मोरङ: अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले बुबासँग फिरौती रकम लिने बुढीगंगा गाउँपालिका ३ का २४ बर्षीय मुकेश कुमार महातोलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मुकेशसँगै फिरोतीको रकमसहित उनकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशी पनि पक्राउ परेका छन् । दुवैलाई आज बुधबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
मुकेश फाल्गुन २३ गते घरबाट निस्किएका थिए । उनले सोही दिन आफ्नै बुबालाई फोन गरेर आफु अपहरणमा परेको बताएका थिए । घटना बारे खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खोजीमा जुटेको थियो । उनलाई फागुन २६ गते सुनसरीको भान्टावारीमा प्रहरीले फेला पारेको थियो । प्रहरीले अनुसन्धानको क्रममा उनको अपहरण नभई अपहरणको नाटक गरेको खुलेको थियो ।
प्रहरीका अनुसार फिरौती रकम ३० लाखबाट बार्गेनिंग शुरु भएको थियो । पछि २१ लाखमा कुरा मिलेको थियो । उनका बुबाले १८ लाख नगद र ३ लाख चेक बुझाएका थिए । कृष्णले फिरौती रकम बुझेपछि मुकेशको खातामा १६ लाख ५३ हजार जम्मा गरिदिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।