धरान: करिब एक महिनादेखि सुन पसल बन्द गरेर सम्पर्कविहिन भएका धरान ३ स्थित न्यु जयन्ती स्टोरका सञ्चालक यौवन खड्गीसँग उनको ठुली छोरी योजना पनि हराइरहेको पाइएको छ ।

घरबाट छोरी योजनालाई अष्ट्रेलिया पढ्न पठाउन भनेर घरबाट दुवै जना काठमाण्डौं गएको परिवारजनको भनाई छ । तर, कोरोना भाइरसको कारण जान नपाएको र जेठाजु(यौवनको दाई) विरामी भएपछि अस्पतालमा बस्नुपरेको श्रीमति गीता खड्गीले बताइन् । उनका अनुसार पसलमा पैसा जम्मा गर्ने ग्राहकहरुले निरन्तर सोधी खोजी गर्न थालेपछि ११ दिनअघि घर फर्कर्दै गर्दा अचानक मोवाइल स्वीच अफ भएको र सम्पर्कमा नआइरहेको दाबी गरिन् । ‘छोरीसँग फर्कदै हुनुहुन्थ्यो, तर घर आइपुग्नु भएन । राती फोन गर्दा स्वीच अफ भयो,’श्रीमति गीताले भनिन्,‘पैसा कहाँ के गर्नुभएको छ, मलाई थाह छैन ।’ उनले प्रहरीमा श्रीमान् र छोरी हराएको निवेदन पनि दिएको बताइन् ।

६ करोडको हिसाब आयो, १२ करोड बढी पुग्ने

न्यु जयन्ती स्टोरमा पैसा जम्मा गर्नेहरु कति छन् भन्ने संख्या यकिन भएको छैन । तर, आज बिहानसम्म करिब सय जनाको संख्या पुगिसकेको छ । ती मध्ये एकै जनाले ६० लाख रुपैयासम्म पैसा जम्मा गरेका पनि छन् । ‘मानिसहरु भर्खर सोधी खोजी गर्दै आइरहेका छन्, अहिले ६ करोड जति पुग्यो,’हरिप्रसाद शाहीले भने,‘ठुलो रकम राख्नेहरु त अझै आएकै छनन्, १०–१२ करोड पुग्छ ।’ उनले पनि ९ लाख रुपैया जम्मा गरेका छन् ।

१५ प्रतिशत ब्याज पाउने लोभ

new-jayanti2

सरकारले बित्तिय कारोबारको अनुमति नलिएको सुनचादी पसलहरुमा पैसा जम्मा गर्न तथा कारोबार गर्न रोक लगाएको छ । सुनचादी पसलले सुनचादी किनबेच गर्न मात्र पाउछन् । तर, पनि यस्ता पसलहरुले बढी ब्याज दिने भन्दै जनताको पैसा लिने गर्छन् । आम जनताले पनि बैंक र सहकारीहरुबाट भन्दा दोब्बर ब्याज पाउने आशामा सुनचादी पसलमा पैसा जम्मा गर्ने गर्छन् ।
न्यु जयन्ती स्टोरमा पनि कम्तीमा १५ प्रतिशत ब्याज पाउने लोभमा सर्वसाधारणहरुले पैसा जम्मा गर्ने गरेका थिए । अवस्था हेरिकन स्टोरले १८ प्रतिशतसम्म ब्याज दिने गरेको थियो । ‘बैंकहरुमा धेरै झञ्झट हुन्छ, ब्याज पनि कम पाइन्छ । यहाँ अहिलेसम्म कारोबार राम्रो थियो, विश्वासिलो थियो, र यही राख्थ्यौं,’एक जनाले भने ।

'आएर व्यवहार सम्हाले हुन्छ'

new-jayanti-store1

न्यु जयन्ती स्टोरका सञ्चालक खड्गी गायब हुदा आफुहरुले जम्मा गरेर राखेको पैसा डुब्ने चिन्ता छ । तरपनि पैसा जम्मा गरेका मानिसहरु अझै पनि खड्गी घर फर्किएर व्यवहार सम्हाल्दा केही नबिग्रिएको बताउँछन् । ‘अहिलेसम्म राम्रो कारोबार थियो, त्यही भएर हामी सबैले विश्वास गरेको हो । अहिले बीचमा के भयो, छक्क परेका छौं,’विमल खड्गीले भने,‘अझै पनि केही बिग्रेको छैन । घर फर्किएर व्यवहार सम्हाले हुन्छ । हामीलाई विस्तारै विस्तारै पैसा फिर्ता गरे भयो ।’

वडाअध्यक्ष भन्छन्,'हराएकोमा शंका छ'

वडा नं ३ का अध्यक्ष आशबहादुर श्रेष्ठले सर्वसाधारणको करोडौं रुपैया जोखिममा परेकोमा चिन्ता व्यक्त गर्छन् । सञ्चालक खड्गी दुई साता लामो सम्पर्कविहिन हुँदा पनि श्रीमान् र छोरी हराएको उजुरी गर्न नगएको वडाअध्यक्ष श्रेष्ठ बताउँछन् । ‘श्रीमान् र छोरी हराउदा उजुरी गर्न जाने कि नजाने ? उहाँ नजानुमा सम्पर्कमा छ भन्ने हो, उहाँ आफै पनि गएको होइन, जर्बजस्ती हामीले लिएर गएको हो, त्यसैले शंकाको दायरामा हुनुहुन्छ,’उनले भने,‘यस्तो कारोबार बैंकमा गर्नुपर्छ, सुनपसलमा गर्न हुन्न । व्यक्तिगतरुपमा कारोबार गर्न हुन्न भन्ने यो घटनाले पनि देखाउछ ।’