धरान :पैसा जम्मा गरेका ग्राहकहरुले दिनहुँ घर घेराउ गर्न थालेपछि धरान ३, कैलाश पथस्थित न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गीको श्रीमतिलाई सुरक्षाको लागि इलाका प्रहरी कार्यालय धरानले लगेको छ ।

एक महिनादेखि सुनचाँदी पसल बन्द गरेर सञ्चालक खड्गी गायब भएपछि पैसा डुब्ने चिन्ताले ग्राहकहरुले दिनहुँ खड्गीको घर घेराउ गरिरहेका थिए । सयौंको संख्यामा ग्राहकहरुले घर घेराउ गर्न थालेपछि प्रहरीले सञ्चालक खड्गीको श्रीमति गीता खड्गीलाई आज बिहान करिब ९ बजेतिर सुरक्षाको लागि प्रहरी कार्यालय लगेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले सुरक्षाको लागि र थप अन्य बिषयमा बुझ्नको लागि गीता खड्गीलाई ल्याइएको बताए । ‘घर घेराउ गरेको गरेकै हुनथालेपछि कुनै अप्रिय घटना नहोस् भनेर ल्याइएको हो, थप केही कुरा पनि बुझ्नुपर्ने छ,’डिएसपी न्यौपानेले भने ।

 कैलाश पथस्थित न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गी गत माघ २५ गतेदेखि पसल बन्द गरेर गायब छन् । जेठी छोरीलाई अध्ययनको लागि विदेश उडाउन काठमाण्डौं गएका उनी सम्पर्कविहिन भएपछि ब्याजको लोभमा सुन पसलमा पैसा जम्मा गरेका ग्राहकहरुले दिनहुँ घर घेराउ गरिरहेका छन् । खड्गीकोमा ६ करोड बढी पैसा जम्मा गरेको प्रारम्भिक तथ्यांकबाट खुलेको छ भने अन्यको पनि हिसाब आउन बाँकी भएकोले रकम अझै बढ्ने ग्राहकहरु बताउँछन् । सुन पसलमा बित्तिय कारोबार गर्न नपाइने भएपछि खड्गीको सुन पसलमा कम्तीमा १५ प्रतिशत ब्याज पाउने गरेकोले सयौंले पैसा जम्मा गर्ने गरेका थिए ।

new-jayanti-store1