धरान: ग्राहकहरुको करोडौं रकम जोखिममा पर्ने गरी सुनपसल बन्द गरेर एक महिनादेखि गायब भएका न्यु जयन्ती स्टोर धरान ३ का सञ्चालक योवन खड्गी सम्पर्कमा आएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ग्राहकहरुलाई ढुक्क रहन सन्देश दिएका छन् भने वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठसँग भिडियो कलमार्फत प्रत्यक्ष कुराकानी पनि गरेका छन् । खड्गीले फेसबुकमा लेखेका छन्,‘म सबैको पैसा तिर्छु, मेरो फ्लाइट हुनुबित्तिकै म आउछु चिन्ता नगर्नुहोस् । म यो कोरोना भाइरसले गर्दा फसेको छुँ ।’ वडा अध्यक्ष श्रेष्ठसँगको भिडियो कलमा खड्गीले आफु जर्मनीमा पुगेको र कोरोना भाइरसको कारण अड्किएको पनि दाबी गरेका छन् ।

उनले फ्लाइट हुने बित्तिकै नेपाल आएर ग्राहकहरुको पैसा तिर्ने पनि बताएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘भिडियोकलमा कुरा भयो, म जर्मनमा फसेको छुँ, फ्लाइट हुनेबित्तिकै आएर पैसा तिर्छु भन्यो,’अध्यक्ष श्रेष्ठले भने,‘किन गएको भन्दा मलाई धम्की आयो, केटाहरुले पिछा गर्यो, त्यसैले छोरीलाई अष्ट्रेलिया उडाउन आउदा म पनि यता आए भन्छ । अरु पनि थुप्रै कुराहरु गर्यो । मैले छिटो आउ, पैसा राखेकोहरुसँग पनि सम्पर्क गर भनेर भने ।’

खड्गीले आफु जर्मनीमा भएको दाबी गरेपनि विश्वास गर्न सकिने आधार भने छैन । उनले भिडियो कल गर्दा पृष्ठभुमिमा आकाश देखिएको र टिनको छानो पनि देखिएको वडाअध्यक्ष श्रेष्ठले बताए । खड्गी गत माघ २५ गतेदेखि घरबाट जेठी छोरीलाई विदेश पढ्न पठाउन भन्दै काठमाण्डौं गएको उनकी श्रीमति गिताको भनाई छ । तर, कोरोनाको कारण उडान रद्द भएपछि केही दिनपछि धरान फर्कदै गर्दा अचानक श्रीमान्को मोवाइल स्वीच अफ भएको उनको भनाई थियो ।

प्रहरी कार्यालयबाट श्रीमति घर फर्किइन्

new-jayanti-store 1

सुरक्षाको कारण दिनभर इलका प्रहरी कार्यालय धरानमा रहेकी सञ्चालक खड्गीकी श्रीमति गिता भर्खर साँझ घर फर्किएकी छिन् । पसलमा पैसा जम्मा गरेका ग्राहकहरुले घर घेरा गरेपछि कुनै अप्रिय घटना हुन नदिन उनलाई प्रहरीले बिहान इलाका लगेको थियो । ‘दिनभर इलाकामा राखिएको थियो, अहिले भर्खर गितालाई घर ल्याएका छौं,’वडा ३ का अध्यक्ष श्रेष्ठले भने ।

एक महिनादेखि सुनचाँदी पसल बन्द गरेर सञ्चालक खड्गी गायब भएपछि पैसा डुब्ने चिन्ताले ग्राहकहरुले दिनहुँ खड्गीको घर घेराउ गरिरहेका थिए । कैलाश पथस्थित न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गी गत माघ २५ गतेदेखि पसल बन्द गरेर गायब छन् । खड्गीकोमा ६ करोड बढी पैसा जम्मा गरेको प्रारम्भिक तथ्यांकबाट खुलेको छ भने अन्यको पनि हिसाब आउन बाँकी भएकोले रकम अझै बढ्ने ग्राहकहरु बताउँछन् । सुन पसलमा बित्तिय कारोबार गर्न नपाइने भएपछि खड्गीको सुन पसलमा कम्तीमा १५ प्रतिशत ब्याज पाउने गरेकोले सयौंले पैसा जम्मा गर्ने गरेका थिए ।