सुनसरी: ईलाका प्रहरी कार्यालय इटहरीमा सुनको गहनाहरु कुच्चाइएको सुनको पोको छ । त्यो सुनको पोको कस्को हो ? प्रहरी पनि अनभिज्ञ छ ।

सुनको वास्तविक हकदार पत्ता लगाउन इलाका प्रहरीले सम्बन्धित धनीले आवश्यक विलसहित समपर्क गर्न सुचना जारी गरेको छ । प्रहरीले जारी गरेको सुचनामा शनिबार काठमाण्डौबाट बिराटनगरतर्फ आउदै गरेको नाइट बसमा चालकको सिट नजिक उक्त सुनको टुक्राहरु भेटिएको उल्लेख छ । महिलाले हातमा लगाउने स्वरुप बिग्रीई टुक्रा-टुक्रा भएको सानो सानो प्लाष्टिकको पोका पारिएको बेबारिसे अबस्थामा सुनको बाला फेला परेको प्रहरीको सुचनामा उल्लेख छ ।

उक्त सुन भेटिएको बस मकालु (मुनाल) रहेको पनि इटहरीले जनाएको छ । बसमा भेटिएको भनिए पनि उक्त सुन प्रहरीसम्म चै सुन पसलको सञ्चालकमार्फत पुगेको हो । चालकले पसलमा बेच्न लगेपछि सुन व्यवसायीले खबर गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार चालक प्रहरी नियन्त्रणमा रहेका छन् । 'चोरी गरेको भन्ने देखियो भने थप कारबाही हुन्छ, हराएर भेटेको हो कि होइन ? सुनधनी पत्ता लागेपछि नै उनलाई के गर्ने भन्ने प्रष्ट हुन्छ,'उनले भने ।

gold1