धरान(डेस्क): प्रदेश नम्बर १ का तीन जिल्लामा मंगलबार भएको आगलागीको घटनामा २५ लाख बराबारको क्षति पुगेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङ,मोरङ र झापा जिल्लाको तीन स्थानमा मंगलबार आगलागी भएको थियो । खोटाङको हलेसी हात्तिटारका लोकेन्द्र माझीको घरबाट अचानक आगलागी हुँदा छिमेकीको घरमा पनि क्षति पुगेको छ । छिमेकी सीता माझी र झन बहादुर थापाको समेत घरमा आगो फैलिएर तीनवटा घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घर, सुनका गहरगना तथा अन्य सरससामान जलेर नष्ट हुदा १७ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ ।
यस्तै, मोरङको बुढीगंगा १ पुष्पलाल चोकका भवनाथ धमलाको घरमा पनि आगलागी भएको थियो । किराना पसल समेत रहेको कोठामा बिजुलीको लाईन सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीले पसलको सामानहरु जलेर नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरि, झापाको कमल गाउँपालिका ५ का धन बहादुर बिकको घरबाट पनि बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुदा छिमेकी सन्तोष बिक र सुजन बिकको घरसमेत आगोको चपेटामा परेको थियो । तीन वटा घरमा आगलागी हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तीनै स्थानमा भएको आगलागी स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।