धरान: लकडाउनको तेस्रो दिन धरानमा रमिता हेर्न हिडेका दर्जन जति व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई प्रहरीले सम्झाई बझुाई गरेर पुनः घर फिर्ता पठाइएको छ । धरान प्रहरीको र्यापिड रेस्पोन्स टिमका कमाण्ड गरिरहेका इन्स्पेक्टर हेमराज ओलीका अनुसार ११ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको थियो । यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो । उनीहरुलाई सम्झाएर छोडिएको ओलीले बताए । ‘सबै बाटोमा हिडिरहेका थिए । कोही पसल गएर आको भन्थे, कोही कता गएको भन्थे,’इन्स्पेक्टर ओलीले भने,‘खासमा रमिता हेर्न चै निस्केका हुन् ।’

उनका अनुसार पहिलो र दोस्रो दिन जस्तो आज लकडाउन उल्लंघन गरिएको छैन । आज मोटरसाइकलहरु पनि १२ बजेसम्म नियन्त्रणमा लिनु नपरेको उनले बताए । ‘आज लकडाउनको पालना पुर्ण भएको देखिन्छ, हिजो र अस्तिजस्तो छैन,’ओलीले भने,‘हस्पिटल जाने र नर्सहरुलाई पुर्याउने सवारी मात्र चलेका छन्, हामीले पनि अवस्था र पास हेरेर छोड्छौं ।’