धरान: लकडाउन चलिरहदा दैनिक मजदुरी गरेर जिवन गुजारा गरिरहेको परिवारसँगै शारीरिकरुपमा अशक्त परिवारहरुलाई पनि छाक टार्ने मुश्किल परिरहेको छ । विपन्न परिवारहरुलाई विभिन्न संघ संस्था तथा जनप्रतिनिधिहरु आफै दैनिक उपभोग्य समानहरु उपलव्ध गराइरहेका छन् ।
शारीरिकरुपमा अशक्त धरान १५ महादेव चोक निवासी पुण्य प्याकुरेलको परिवार पनि लकडाउनले प्रभावित भएको छ । उनी दुर्घटनामा परेर पुष्य थला परेका छन् । उनको परिवारलाई दैनिक खाद्यान्न मात्र होइन, औषधी पनि उनको लागि जोहो गर्नुपर्ने हुन्छ । आर्थिक समस्यामा पिरोलिएको उनै पुष्यको परिवारलाई आइतबार धरान ९ निवासी तमु कम्प्लेक्सका प्रोपराइटर तथा रिजन चियर पर्सन ३२५ लायन रेखा गुरुङ्गले सहयोग गरेकी छिन् । गुरुङले पुष्यलाई पाँच महिना पुग्ने औषधीसहित खाद्यन्न सामग्री प्रदान गरिन् ।
उनले २५ केजी चामल, दाल, नुन, तेल, प्याज, आलु, टमाटर, मटर, सेनिटाइजर, मास्क जस्ता दैनिक उपभोग्य तथा कोरोनाबाट बच्न उपयोगी सामानहरु उपलव्ध गराइन् । केही दिनअघि नेपाल फोटो पत्रकार महासंघ सुनसरीले प्याकुरेललाई औषधी हस्तान्तरण गरेको तस्विर फेसवुकमा देखेपछि प्याकुरललाई सहयोग गर्ने सोच आएको गुरुङ्गले बताइन् । 'लकडाउनको यो अवस्थामा कसलाई सहयोग गरौ भन्ने लागि रहेको थियो, फेसवुकमा देखे पछि पुण्यलाई नै सहयोग गर्ने निर्णय गरे,'उनले भनिन् ।
सामग्री हस्तान्तरणको लागि गुरुङ्गको साथमा उनको श्रीमान् लायन धिरज गुरुङ्ग र लायन राजिव दाहाल पनि उपस्थित रहेका थिए । गुरुङ्गले यसअघि पनि पुण्यलाई सहयोग गरेकी थिइन् । पुण्य करिव ५ वर्ष अघि दुर्घटनामा परेर शारीरिकरुपमा अशक्त भएका हुन् । उनको छातीदेखि तलको भाग प्यारालाइसिस भएको छ । उनले दैनिक औषधि सेवन गर्नु पर्ने हुन्छ । उनी श्रीमति, एक छोरा र एक छोरीको साथमा वस्दै आएका छन् । दुई वर्ष अघि धरानका पत्रकारहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देउसी खेलेर उठेको रकमवाट उनको घर निर्माण अभियान शुरु भएको थियो । पछि, विभिन्न संघसंस्था र व्यक्तिहरुले उनको घर निर्माण अभियानमा योगदान गरेका थिए ।