धरान: सरकारले देशभर लकडाउन घोषणा गरेको छ । सहरका प्रमुख नाका, सडक र बजार ठप्प भएपनि भित्रि सडक, टोलहरुमा भने लकडाउन प्रभावकारी हुन सकेको छैन ।

प्रहरीको आँखा छलेर बिशेष गरी युवा पुस्ता सडकमा भेला हुने र घुम्न निस्कने गर्छन् । धरानकै कुरा गर्ने हो भने पनि बजार क्षेत्रका युवाहरु सेउती, सर्दु खोलातिर घुम्न निस्कने गरेका छन् । यसले कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिम यथावत छ । बजारतिरका मानिसहरु लकडाउनमा पनि घुम्न भन्दै दिनहुँ आउन थालेपछि धरानको पर्यटकीय ठाउँ धरान २०, चिण्डे डाँडामा गाउँलेहरु मिलेर घुमफिर गर्न प्रतिबन्ध लगाएका छन् । उनीहरुले दुई दिनदेखि बाहिरका मानिसहरु आउन नदिन गस्ती नै गर्न थालेका छन् ।

chinde-dada-n

लकडाउन भएपनि धरानको बजार क्षेत्रबाट मर्निङ वाक, घुम्न र बेलुका हावा खान भन्दै आउने क्रम नरोकिए पछि यो कदम चाल्नु परेको वडा कार्यालय सदस्यसमेत रहेका स्थानीयबासी कर्णबहादुर तामाङले बताए । ‘अहिले त हामीले तीन टोली बनाएर कसैलाई पनि आउन दिएका छैनौ, धेरै जना रिसाउदै फर्कनुहुन्छ, तर सबैको हितको लागि यसो गर्न बाध्य भयौ,’उनले भने ।

धरान २०, साविक विष्णुपादुकास्थित भञ्ज्याङमा अस्थायी प्रहरी चौकी छ । तर, जनशक्ति ज्यादै कम छ । त्यसैले गाउँले आफैले जोखिम रोकथामको लागि जुट्नुपरेको तामाङले बताए । उनका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म समय मिलाएर गाउँलेहरु सजग भएर बस्ने गरेका छन् । चिण्डे डाँडा आउने प्रमुख नाकामध्ये धरान १३ सँगको सिमाना रहेको ओशो आश्रममा पनि सुचना टाँसिएको उनले बताए ।

गाउँघरमा घुम्न जानेलाई नियन्त्रणमा लिइन्छः डिएसपी न्यौपाने

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बजार क्षेत्रमा लकडाउन पुर्ण कार्यान्वयन भएको बताए । तरकारी र खाद्यपदार्थ किन्न केही सहजीकरण गरेकोले चहलपहल देखिएको उनले बताए ।

बजारमा लकडाउन पुर्णपालना भए पनि गाउँघरतिर घुम्न निस्कने गरेको गुनासो आएको र जनप्रतिनिधिहरुले पनि खबर गरेकोले त्यस्ता क्षेत्रहरुमा पनि गस्ती खटाइएको डिएसपी न्यौपानेले बताए । ‘टोल विकास समितिसँग सहकार्य गरेर रोक्ने र नियन्त्रणमा लिने काम भइरहेको छ,’उनले भने ।

chinde-danda-lock

lock-down-police 1