धरान: धरानमा लकडाउन उल्लंघन गर्ने क्रम नरोकिए पछि प्रहरीले कडा कदम चालेको छ ।
धरानको भानुचोकस्थित वडा प्रहरी कार्यालय अघि दुई व्यक्तिलाई कान समातेर घुँडा टेकाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यसअघि प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेर दिनभर प्रहरी कार्यालयमा नियन्त्रणमा पनि राखेको थियो । त्यसो गर्दा पनि धरानमा लकडाउन अटेर गर्ने क्रम सुध्रिएको छैन ।
एक महिला प्रहरी र केही नगर प्रहरीहरुले दुई युवालाई कान समोतर घुँडा टेकाएका हुन्छन् । आक्रोशित महिला प्रहरीले ती युवाहरुलाई कडा शब्दमा सम्झाउछिन् । अन्त्यमा युवाहरुलाई घुँडा टेकाएर नै हिडाएर मात्र छोड्छन् । ती युवाहरु धरान ९ आचार्यलाइनतिर भाग्छन् । यो भिडियो कहिलेको हो भन्ने प्रष्ट छैन । तर, बिहानको समयको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले कसैलाई शारीरिक यातना पुग्ने गरी कारबाही गर्ने भन्ने नभएको बताए । अत्यावश्यक काममा हिडेकालाई छोडिदिने र अरुलाई सम्झाएर नै घर फर्काउने गरिएको बताए । ‘घुँडा टेकाएको बारेमा म बुझ्छुँ,’उनले भने ।