धरान: लकडाउन लम्बिदै गएपछि छाक टार्न समस्यामा परेका विपन्न परिवारलाई राहत दिलाउन धरान उपमहानगरपालिकाले फुड बैंक स्थापना गरेको छ । सोही बैंकमा मंगलबार धरान जेसिजले एक हजार किलो चामल सहयोग गरेको छ ।
धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलासहित पदाधिकारीहरुले मंगलबार उपमहानगरपालिका परिसरमा हजार किलो चालम मेयर तथा उपमेयरलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । यो चालम फुड बैंकमार्फत धरानका विपन्न परिवारहरुलाई राहत वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ । लकडाउनको बेला पनि जथाभावी राहत संकलन र वितरण हुन थालेपछि उपमहानगरपालिकाले सोमबार एकद्धार प्रणालीमार्फत राहत दिनको लागि फुड बैंक स्थापना गरेको जानकारी दिएको थियो । बैंक स्थापनाको जानकारी आएको चौबिस घण्टा पनि नबित्दै जेसिजले एक हजार किलो चामल सहयोग गरेको हो ।
>
जेसिजका अध्यक्ष दिपेन्द्र निरौलाले धरान जेसिस जस्तो युवाहरुको संस्थाले सहकार्य गर्नुपर्छ भनेर तत्काल मानवीय सहयोगको अभियानमा सहभागी भएको बताए । उनका अनुसार पुर्वअध्यक्ष, प्रथम महिला, कार्यसमितिका सदस्यहरुलगायत जेसिज परिवारबाट आर्थिक स्रोट जुटाएर सहयोग गरिएको हो । ‘प्रारम्भिक आपतकालिन मानवीय सहयोग गरेका हौं, भविष्यमा पनि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउदछौं,’अध्यक्ष निरौलाले भने,‘फुड बैंकमार्फत सही ठाउँमा सदुपयोग हुन्छ भन्ने अपेक्षा छ ।’
धरान उपमहानगरका मेयर तिलक राईले लकडाउनले दैनिक गुजारा गरेर गरिखाने व्यक्तिको आश्रित परिवारलाई समस्या परेकाहरुलाई राहत कोष र फुड बैंक स्थापना भएको बताए । उनले वडागतरुपमा लगत संकलन भइरहेको र चाडै वितरण गरिने बताए । साथै, उनले जथाभावी राहत संकलन र वितरण नगर्न आग्रह गर्दै उपमहानगरपालिकाको फुड बैंकमार्पmत सहयोग गर्न पनि आग्रह गराए ।