धरान: धरानका एक औषधी व्यवसायीले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई इन्फ्रारेड थर्मोमिटर सहयोग स्वरुप प्रदान गरेका छन् ।
कोरोना आशंकामा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको ज्वरो नाप्न यो थर्मोमिटर अति आवश्यक छ । तर, अहिले यो बिशेष थर्मोमिटरको अभाव छ । त्यसैले क्वारेन्टाइनमा बसेकाहरुलाई ज्वरो आउदा जाँच गर्न निक्कै समस्या भइरहेको थियो । यो थर्मोमिटरले केही दुरीमा रहेर नै विरामीको ज्वरो जाँच गर्न सकिन्छ । यो थर्माेमिटर धरानको फुस्रेस्थित सैनिक महाविद्यालयमा रहेको क्वारेन्टाइनमा प्रयोग गर्ने उपमहानगरले जनाएको छ ।
वीपी प्रतिष्ठान अघिको युनिक फार्मेमीका सञ्चालक पंकज झाले उक्त थर्मोमिटर धरानका मेयर तिलक राईलाई हस्तान्तरण गरेका थिए । मेयर राईले तत्काल स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई उक्त थर्मोमिटर प्रदान गरे । धरानका मेयर तिलक राईले थर्मोमिटर दुर्लभ बुटी जतिकै भएको प्रतिक्रिया दिए । ‘यो नपाएर हाम्रा कर्मचारीहरु आतंकित जस्तै भएका थिए, धेरै सहज हुने भयो,’उनले भने,‘दुलर्भ बुटी जतिकै भयो ।’ दाता झाका अनुसार उनको मेडिकलमा यही एउटा थर्मोमिटर थियो । अन्त नपाएको र उपमहानगरपालिकाले आग्रह गरेपछि आफुले सबैको हितको लागि सहयोग गरेको बताए ।