धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षण गर्न स्थापना गरिएको ल्याबमा गरिएको सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिष्ठानका अनुसार ल्याब स्थापना भएपछि संकलन भएको १२ वटा थ्रोट स्वाबको नमुनाको रिपोर्ट सबै नेगेटिभ आएको छ । ती मध्ये ४ वटा प्रतिष्ठानबाट नै संकलन गरिएको नमुना हो भने अन्य ८ वटा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाबाट संकलन गरेर पठाइएको नमुना हो । ती सबै नमुनाको रिपोर्टहरु सम्बन्धित स्वास्थ्य संस्थामा पठाइसकेको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार एउटा स्वाब आज संकलन भएको छ । त्यसको रिपोर्ट मात्र आउन बाँकी छ ।
बीपीमा लिइएको स्वाब बाहेक कोशी अस्पताल, मेची अस्पताल, संखुवासभा, धनुकटा र पाँचथरबाट पठाइएको स्वाबको नमुना परीक्षण भएको थियो । प्रतिष्ठानमा आइतबार कोरोना परीक्षण गर्ने ल्याब स्थापना भएको थियो । यहाँ ल्याब सञ्चालनमा आएपछि प्रदेश एकसँगै प्रदेश २ लाई पनि कोरोना परीक्षणको लागि स्वाबको नमुना अब काठमाण्डौं पठाउनुपर्ने बाध्यता हटेको छ । यसले समय र खर्च पनि जोगाएको छ भने रिपोर्ट चाडै आउन थालेको छ ।
यस्तै, प्रतिष्ठानमा हालसम्म कुल १६४ जना हेल्प डेस्कमा आएका छन् । ती मध्ये १४० जनालाई सेल्फ आइसोलेसनमा पठाइएको छ भने १४ जनालाई सरकारले स्थापना गरेको क्वारेन्टाइनमा पठाइएको छ । यस्तै, प्रतिष्ठानको आइसोलेसनमा एक नयाँ विरामी थपिएका छन् । प्रतिष्ठानको गाइनोमा आएकी एक महिलालाई राती आइसोलेसनमा राखिएको हो । हाल वीपीको आइसोलेसनमा रहेकाको संख्या २ जना भएका छन् । यसअघि ९ जना डिस्चार्ज भएर घर फर्किसकेको पनि प्रतिष्ठानले जनाएको छ ।