धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज १३ जनाको नयाँ स्वाबको नमुना संकलन भएको छ ।
प्रतिष्ठानका अनुसारा ती स्वाबहरु प्रदेशका विभिन्न अस्पतालहरुबाट संकलन भएको हो । ती मध्ये ३ वटा वीपी प्रतिष्ठानमा नै स्वाबको नमुना लिइएको प्रतिष्ठानका सहायक प्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । आज संकलन भएको १३ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ । वीपीको माइक्रोबायोलोजी ल्याबमा अहिलेसम्म जम्मा २५ वटा स्वाबको नमुना संकलन भइसकेको छ । ती मध्ये हिजोसम्म १२ वटाको नतिजा नेगेटिभ आइसकेको छ ।
प्रतिष्ठानका अनुसार आज कोरोना हेल्प डेस्कमा ८ जना सम्पर्कमा आएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा नै पठाइएको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म कुल १ सय ७९ जना हेल्प डेस्कमा आएकामा १४ जनालाई सरकारी क्वारेन्टाइनमा र १ सय ५४ जनालाई होम क्वारेन्टाइन्मा नै बस्ने सुझावसहित घर पठाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आइसोलेसनमा २ जना उपचाररत अवस्थामा छन् ।