धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहिबार परीक्षण गरिएको सबै स्वाबको रिपोर्ट कोरोना संक्रमण नभएको आएको छ ।
प्रतिष्ठानमा आज कुल १३ जनाबाट स्वाबको नमुना संकलन भएको थियो । प्रतिष्ठानसहित प्रदेशको विभिन्न अस्पतालबाट आएको स्वाबमध्ये आज १२ वटाको परीक्षण गरिएको थियो । ती सबै १२ वटाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको आएको प्रतिष्ठानका सहप्रवक्ताड डा. अशोक ऐरले जानकारी दिए । उनका अनुसार एउटा स्वाबको रिपोर्ट मात्र अब आउन बाँकी छ । प्रतिष्ठानमा दैनिक १२ वटा मात्र स्वाबको नमुना परीक्षण हुन्छ भने एउटा स्वाबको नमुना नयाँ संकलन भएकोले पनि बाँकी रहेको हो ।
प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा अहिलेसम्म जम्मा २५ वटा स्वाबको नमुना संकलन भइसकेको छ । ती मध्ये २४ वटाको परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको छ । हिजो १२ वटाको नतिजा नेगेटिभ आएको थियो भने आज थप १२ वटाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
प्रतिष्ठानका अनुसार आज कोरोना हेल्प डेस्कमा १३ जना सम्पर्कमा आएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा नै पठाइएको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म कुल १ सय ८४ जना हेल्प डेस्कमा आएकामा १४ जनालाई सरकारी क्वारेन्टाइनमा र १ सय ५९ जनालाई होम क्वारेन्टाइन्मा नै बस्ने सुझावसहित घर पठाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आइसोलेसनमा २ जना उपचाररत अवस्थामा छन् । यसअघि आइसोलेसनबाट ९ जना डिस्चार्ज भइसकेका छन् ।