धरान: आइतबार साँझ एकाएक नेपालीहरुको घर, आँगनमा दियो बत्ति बल्न थाल्यो । सामाजिक सञ्जालहरु पनि झिलिमिल भए ।

न कुनै चाडपर्व, न कुनै दिवस । नयाँ संघीय संरचनाअुनसार नेपालमा तीन तहको सरकार पनि छ । संघ, प्रदेश र स्थानीय कुनै पनि तहको सरकारले दिपावली गर्ने आह्वान वा निर्णय गरेको पनि थिएन । तर, एक्कासी नेपालीहरुले साँझ ७ बजे तिर घरमा दियो, बत्ति बाले । कतिपयले थाल पनि ठटाए । 

कतिले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा नेपाली दिपावली भएको भने । तर, मोदीले कोरोना संकटको अन्धकारलाई प्रकाशले चुनौती दिनको लागि आइतबार राती ९ बजेदेखि ९ मिनेट बत्ति निभाएर मैनबत्ति, टर्चलाइट वा मोवाइल बाल्न आग्रह गरेका थिए । नेपालीहरुले त मोदीले भन्दा अघि नै घरमा दियो, बत्ति बाले ।

कतिले मोदीले आफ्नो पार्टीको बार्षिकोत्सवको पुर्वसन्ध्यामा दिपावली गर्न आह्वान गरेको भन्दै आशंकाहरु पनि व्यक्त गरेका छन् । मोदीकै आह्वानमा दिपावली गरिएको भन्दै सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी गरिएको छ । जानकारहरुका अनुसार ६ अप्रिल १९८० भारतीय जनता पार्टी स्थापना भएको थियो । त्यसैले आफ्नो पार्टीको स्थापना दिवसको पुर्वसन्ध्या अर्थात ५ अप्रिलको साँझ बिजुली बत्ति निभाएर मैन, टर्च वा मोवाइल लाइट बाल्न आह्वान गर्नुमा मोदीको गहिरो राजनीतिक स्वार्थ लुकेको भन्दै आशंकाहरु पनि व्यक्त गरिएका छन् ।

dipawali4

यद्यपी, नेपालका केही पण्डितहरुले शनिबार नै पशुपति क्षेत्रबाट भिडियो सन्देशमार्फत साँझ ७ बजेर ७ मिनेटमा दिपो, बत्ति बालेर प्रकाशको उज्यालो छर्न आह्वान गरेका थिए । पण्डितहरुले २ मिनेट १४ सेकेण्डको भिडियो सन्देशमार्फत चैत २३ गते चैत शुक्लत्रयोदशी रविपरदोष तिथी परेकोले असाध्यै राम्रो, पवित्र भएकोले दियो बाल्न आह्वान गरेका थिए । यो दुर्लभ, पवित्र र महत्वपुर्ण समय भएकोले सबैले घरमा दियो बाल्दा पवित्र, आरोग्य, समृद्धि बढाउने ती पण्डितहरुको भनाई थियो । सोही आह्वान अनुसार नेपालीहरुले घरमा दियो बालेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।