बेलवारीः कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै मुलुक लकडाउनमा गएको १३ दिन बितिसक्दा मोरङमा बल्ल विपन्न समुदाय लक्षित राहत बाँड्न थालिएको छ ।
अतिविपन्न परिवारमा छाक टार्न मुस्किल परिरहेको बेला स्थानीय सरकारले खाद्यान्न लगायतका सामाग्री वितरण गर्न थालेका हुन् । बेलवारी नगरपाकालिकाका ११ वडामार्फत संकलन भएका अतिविपन्न समुदायका परिवारलाई राहत वितरण गरिएको छ । वडामार्फत संकलन भएको घरधुरिलाई टोलविकास संस्थामार्फत घरमै पुुग्ने गरि राहत वितरण थालिएको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अतिविपन्न ३५ सय परिवारलाई मात्र राहत दिइएको छ भने दोस्रो चरणमा पुनः जनताको अवस्था हेरेर राहतलाई निरन्तरता दिइने छ ।
नगर क्षेत्र भित्र रहेका दैनीक ज्याला दारी मजदुरी गरेर परिवार पालिरहेका परिवार यो राहतबाट केहि दिन भए पनि छाक टार्नसक्ने नगरले प्रक्षेपण गरेको छ । पहिलो चरणमा दिइएको यस्तो राहतलाई निरन्तरता दिइने उपमेयर ढाका पराजुलीले जानकारी दिइन् । उनका अनुसार राहतलाई प्रभावकारी बनाउन र खास विपन्न समुदाय लक्षित होस भन्नका लागि नगर भित्रका ११ आटै नगरका विशेष राहत तथा उद्धार समिति बनाइएको छ । वडाअध्यक्षको संयोजकत्वमा रहेको यस्तो समितिले वडा भित्रका व्यक्तिको पहिचान गर्छ । यसले निजि क्षेत्रमार्फत आएको सहयोगलाई नगरको मुल कोषमा जम्मा गरि एकद्धार प्रणालीमार्फत वितरण गरिन्छ ।
भिडभाड नहोस् भन्नका लागि वडाको सिफारिसमा आएका राहत परिवारलाइ घरसम्म पुुर्याउन टोलविकासको सहयोग लिइएको छ । ‘वडाभित्र रहेका टोलविकास सँस्थामार्फत साँच्चै गरिखाने वर्ग जो मजदुरी गरेर पेट पाल्थ्यो त्यस्तो परिवारलाई मात्र यो राहत दिइएको छ,’उपमेयर पराजुलीले भनिन्,‘लकडाउन लम्बिदै गयो भने पुनः राहत दिइन्छ भने थप समस्यामा परेका परिवारलाई सहयोग गर्न तत्पर छ ।’