धरान: सुख्खा याम शुरु भएसँगै धरानमा पिउने पानीको अभाव पनि शुरु भएको छ । लकडाउनले घरभित्र सिमित रहेका धरानबासीहरु धारामा पानी नआएर थप समस्यामा छन् ।

कोरोना भाइरस संक्रमणबाट जोगिन हात धुनुपर्ने अभियान चलिरहेको छ । तर, धारामा पानी नआएर हात धुनै नपाइएको धरानबासीहरुको पीडा छ । निरन्तर धारामा पानी नआएपछि आइतबार धरानको वडा नं ९ का वडाबासीहरुले अध्यक्षलाई घेराउ गर्दै ज्ञापन पत्र बुझाए भने वडाअध्यक्ष रत्न कटवालसँगै संस्थान र आइयुडिपीको रिजर्ब वेयर अनुगमनमा पनि निस्केका थिए । त्यसक्रममा टंकीमा पानी भएर पनि नगरबासीहरुलाई वितरण नगरेको पाइएको पत्रकारसमेत रहेका महेश श्रेष्ठले जानकारी दिए । ‘इर्मजेन्सीमा दिने भनेर पानी टंकीमा राखेको भन्छ । यो बेला भन्दा कहिले इर्मजेन्सी हुन्छ ?’उनले भने,‘संस्थानका प्रमुखले एकदमै गैरजिम्मेवारपुर्ण जवाफ दिए ।’

आइयुडिपीले पनि नगरबासीलाई पानी वितरण गर्न नसकेको भन्दै पत्रकार श्रेष्ठले खानेपानी व्यवस्थापन बोर्डले नेतृत्व कौशल देखाउन चुनौती दिए । नेतृत्व गर्न नसक्ने भए पद छोड्नुपर्ने पनि उनले सुझाव दिए । ‘पानी भएर पनि नदिने कर्मचारीलाई कारबाही गर्नुपर्छ । पानी वितरणको सेड्युल बनाउनुपर्छ । कति बेला आउछ, कतिबेला बन्द हुन्छ भन्ने समय निश्चित नै भएन,’उनले भने,‘धरान खानेपानी बोर्डले नेतृत्व क्षमता देखाउनु पर्यो, होइन भने नालायक हुँ भनेर छोड्नुपर्छ ।’

अहिले पानीमा आधारित होटल, रेष्टुरेष्ट, निर्माण व्यवसायहरु सबै बन्द भएर पानीको खपत कम भए पनि पानी अभाव हुनु आश्चर्य भएको श्रेष्ठले बताए । ‘होटल, रेष्टुरेष्ट, निर्माण व्यवसायी बन्द छ, यो बेला पनि पानी अभाव कसरी भयो ?’उनले भने । वडा नं ९ का अध्यक्ष रत्न कटवालले संस्थानले रहलपहल पानी वडा ९ लाई दिने भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आक्रोश पोखे । उनले मेयर तिलक राईले संस्थन र आइयुडिपीसँग छलफल गरेर समाधान गर्ने आश्वासन दिएको खुलाउदै समाधान नभए विगतमा जस्तै आन्दोलनको कार्यक्रम ब्युताएर अघि बढ्ने चेतावनी पनि दिए ।