धरान(डेस्क): प्रदेश एकको विभिन्न स्थानमा आइतबार तीन जनाको मृत्यु भएको छ । प्रदेश एक प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरी, ताप्लेजुङ र झापामा तीन जनाको ज्यान गएको हो ।

सुनसरीको कोशी गाउँपालिका २ का ४८ बर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे बैलगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा नहरको खाल्डोमा परी पल्टदा उनी गम्भिर घाईते भएका थिए । यादबको जिल्ला अस्पतला ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरि, चितवन ईच्छा मनकामना ३ सौराहका २७ बर्षीय चित्र कुमार गुरुङको आइतबार ताप्लेजुङमा स्काईभेटर दुर्घटनामा परी मृत्यु भएको छ । फक्तालुङ ६ फेदीखोलास्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान(ओलाङचुङगोला सडक खण्डमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । स्काईभेटर सडकदेखी १०० मिटर तल खस्दा चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसैगरि, झापा मेचिनगर ११ मिलडाँडाकी ५६ बर्षीया तारादेबी कुमालको पानीमा डुबेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे छिमेकीको घरमा घुम्न आएको बेला आँगनमा पानी जमाउन बनाएको रिङमा लड्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।