धरान: छिमेकी गाउँपालिका साँगुरीगढी ६ स्थित कोल्बोटो क्षेत्रबाट शुरु भएको डढेलो चौबिस घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

डेढेलोले जंगलको ठुलो क्षेत्रफलमा क्षति पुगेको छ । बिहानैदेखि सेना, सशस्त्र, प्रहरी र भेडेटारबासीहरुले डढेलो नियन्त्रणको प्रयास गरेपनि सफल भएका छैनन् । भेडेटारका होटल व्यवसायी आशिष राईका अनुसार कल्बोटे भन्ने ठाउँबाट शुरु भएको डेढेलो पाथीभारा मन्दिर छेउसम्मै आइपुगेको छ । डढेलो ६० स्क्वार किलोमिटर भन्दा ठुलो क्षेत्रफलमा लागेको छ । नियन्त्रणको लागि फायर लाइनहरु बनाएर प्रयास भइरहेको उनले बताए ।

कल्बोटे क्षेत्रबाट हिजो दिउसोबाट नै डढेलो सल्किएको स्थानीयको भनाई छ । खरबारी भएकोले कारण आगो छिटो फैलिएको थियो । के कति क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन । ‘हामी बिहानैदेखि नियन्त्रणमा लागेका छौं । सेना, सशस्त्र, जनपथ र स्थानीयबासी सबै छौं,’राईले भने,‘निक्कै गाह्रो भइरहेको छ ।’

लालीगुराँसमा पनि भिषण आगो

ago-dadhelo1

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित जंगलमा पनि अहिले भिषण आगलागी भइरहेको छ । नगर प्रमुख अर्जुन माबुहाङका अनुसार सोल्माको हात्तिआहाल र सुङनामको नगरतप्पाबीचको जंगलमा आगलागी भइरहेको हो । ‘जंगलमा भिषण आगलागी भइरहेको छ, स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ,’मेयर माबुहाङले भने ।