भोजपुर: भोजपुरको आमचोक गाउँपालिका ९ रुक्सेमा खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर नगद लुटपाट गरेको आरोपमा ७ युवाहरु पक्राउ परेका छन् ।

सोमवार राती पौने ९ बजे भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर चालकको नगद लुट्ने युवाहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्याक्टर चालकको साथमा रहेको नगद २१ हजार ५ सय लुटपाट भएको हो । पक्राउ पर्नेहरुमा आमचोक गाउँपालिका ८ का ३२ बर्षीय लोक बहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८ बर्षीय देवराज तामाङ रहेका छन् ।

उनीहरुलाई मंगलवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । पक्राउ परेका ७ जनालाई भोजपुर लगिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले जाँड खाएर केही स्थानीय युवाहरुले ट्याक्टर रोकेर कुटपिटको घटना भएको बताए । 'चामल पुर्याउन गएर फर्कदा जाँड खाएर झगडा भएको रहेछ, प्रहरीले सबैलाई जिल्ला भोजपुर लगिसकेको छ,'अध्यक्ष राईले भने,'लुटपाट नै त भएको होइन । पैसा हरायो भन्ने चै छ।'