धरान(डेस्क): प्रदेश एकको पहाडी जिल्ला भोजपुर र खोटाङमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ भने एक जना मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुरको षडानन्द नगरपालिका १० का ६९ बर्षीय हस्त बहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो । मंगलवार बिहान पौने १० बजेको समयमा घर नजिकै रहेको काब्राको रुखमा चढेर घाँस झार्ने क्रममा राई रुखबाट लडेर घाईते भएका थिए । उनलाई उपचारको लागी मनकामना अस्पताल तुम्लिङटार लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारीमा पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ का ३० बर्षीय बिर बहादुर राईको मोटरसाईकलबाट लडेर मृत्यु भएको छ । मंगलवार दिउँसो पौने ४ बजे नगरपालिकाले बितरण गर्ने राहतको लागी फारम भर्न नगरपालिकाको कार्यालयमा गएको बेला उनको मृत्यु भएको हो । कार्यालयको प्राङगणमा रोकी राखेको मोटरसाईकल माथी बस्ने क्रममा अचानक मोटरसाईकलबाट उनी लडेका थिए । त्यसक्रममा मोटरसाईकलले उनलाई छातीमा किच्दा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।