धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर एवं कर्मचारीहरुसँग राहत मागेको भनेर आलोचना खेपेका धरानका मेयर तिलक राईले सामाजिक क्षेत्रमा विनियोजन गरेको बजेट रकमान्तर गरेर भएपनि लकडाउन अवधिभर विपन्न नागरिकहरुलाई राहत वितरण गर्ने बताएका छन् ।

मेयर राईले मंगलबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा विपद् व्यवस्थापन, आकस्मिक कोषमा अझै पनि बजेट भएको उल्लेख गर्दै बजेट रकमान्तर गरेर भएपनि ३ महिनालाई पुग्ने राहत दिने बताएका हुन् । बजेट रकमान्तर गर्नको लागि कार्यपालिका बैठक बस्ने र आकस्मिक नगरसभा गर्ने बताए । ‘हामीसँग विपद् व्यवस्थापनको कोषमा अहिले पनि केही पैसा छ, आकस्मिक कोषमा पैसा छ । सामाजिक क्षेत्रमा कार्यक्रममा विनियोजन गरेको पैसा छ, अन्य क्रियाकलापमा छ,’मेयर राईले भने,‘लकडाउन दुई, तीन महिना कति लम्बिन सक्छ, कार्यपालिका बैठककाट आकस्मिक नगरसभा गरेर बजेट रकमान्तर गरेर भएपनि केन्द्र सरकारले गरेको कार्यक्रममा सहभागी हुन्छौं ।’

मेयर राईले नगरबासीको स्वास्थ्यप्रतिको जिम्मेवारी प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले संयुक्तरुपमा वहन गर्न तयार भएको पनि बताए । उनले अतिविपन्न परिवारहरुलाई तीन महिनासम्म लकडाउन एवं संक्रमणकाल अवधिसम्म नै खाद्यान्न उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको पनि बताए ।

कर्मचारीबाट १० लाख बढी राहत कोषमा सहयोग

धरान उपमहानगरपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुबाट १० लाख बढी आर्थिक सहयोग राहत कोषमा जम्मा गरेका छन् । उपमहानगरपालिकाका सम्पुर्ण कर्मचारीहरुबाट कुल १० लाख १५ हजार ७ सय रुपैया कोषमा जम्मा भएको हो ।

श्रेणीविहिन कर्मचारीहरुबाट २ दिन बराबरको तलब कोषमा जम्मा भएको छ भने सहायकस्तर द्धितियदेखि पाँचौं तहसम्मका कर्मचारीबाट ३ दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । यस्तै, अधिकृतस्तर छैटौंबाट ४ दिन बराबर, अधिकृतस्तर सातौं र सातौं माथिकाबाट ५ दिन बराबरको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।