धरान: देशव्यापी लकडाउनको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित नेपाल रेडक्रस सेसाइटीको ब्लड बैंकमा रगतको चरम अभाव भएपछि सुनसरी उद्योग वाणिज्य संघले वृहत रक्तदान कार्यक्रमको तयारी गरेको छ।
प्रतिष्ठानको डायलाइसिस, प्रसुतिका बिरामी र शल्यक्रियाका लागि रगत अभाव भइनै रहेको कारण संघले बैशाख ४ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । केही दिनदेखि स्वेच्छिक रक्तदानको आह्वान गरेको संघले बैशाख ४ गते वृहत रक्तदानको तयारी थालेको हो । संघले स्वेच्छिक रक्तदान आह्वान गर्नुको साथै समिति पनि गठन गरेको थियो । संघको आह्वान पछि केही व्यवसायीहरुले ब्लड बैंकमा गएर रक्तदान गरेको इञ्चार्ज सुभाषचन्द्र सिंहले जानकारी दिए ।
उद्योगी, व्यवसायी, वस्तुगत संघ, विद्यार्थी, नागरिकहरु, सेना, प्रहरी, प्रशासनको सहयोग तथा समन्वयमा नै रक्तदान कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक प्रभाव खतिवडाले जानकारी दिए । रगत अभावले छटपटाइरहेका बिरामीहरुको जीवन रक्षाको लागि उक्त दिन बिहान ८ः०० बजेदेखि धरान–१ स्थित सचिवालयमा आएर रक्तदान गर्नका लागि संघले सबैमा आह्वान पनि गरेको छ ।