धरान: लकडाउन उल्लंघन गर्ने विरुद्ध धरानमा प्रहरीले निरन्तर सक्रियता जारी राखेको छ ।

प्रहरीले शनिबार बिहान मर्निङ वाक गर्नेहरु १ सय ६३ जना नियन्त्रणमा लिएका थिए भने बेलुका पनि थप ५८ जनालाई प्रहरीले धरानको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका उनीहरुलाई धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा लगेर २ देखि ३ घण्टासम्म राखिएको थियो । अन्त्यमा ती मानिसहरुलाई कोरोना भाइरस(कोभिड १९)बारे जानकारी दिएर छोडिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार अनुसार साँझ १० जना महिलासहित ५८ जनालाई नियन्त्रणमा लिइएको थियो ।

लकडाउन अवधिभर गाडी फिर्ता नहुने

प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारी साधनहरुको चाबी नियन्त्रणमा लिएर राख्न थालेको छ । ती सवारीसाधनहरुका चाबीहरु लकडाउन नखुलेसम्म फिर्ता नहुने पनि डिएसपी न्यौपानेले बताए ।

प्रहरीका अनुसार शनिबार मात्र ८८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने २ वटा टेम्पो, एउटा सिटी सफारी र २ वटा साइकल पनि नियन्त्रणमा रहेको छ । अघिल्लो दिन शुक्रबारदेखि प्रहरीले धरानमा लकडाउनलाई थप कडाई गर्न थालेको हो । शुक्रबार कुल १ सय ५३ वटा सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।