इटहरीः औँशीको रात, चकमन्न अँध्यारो हुनुपर्ने हो । तर, सबै तिर बत्तिको उज्यालोमात्र थियो । त्यसै पनि तिहार उज्यालोको पर्व हो । लक्ष्मी पुजाको दिन आफ्ना ४० सन्तानसँग उज्यालो खुसी मनाइरहेकी गीता आमालाई अकस्मात् फोन आउँछ,‘नालीमा एक नावालिका भेटिइन्, लिन आउनुपर्यो ।’

फोन इलाका प्रहरी कार्यालय इटहरीबाट थियो । हत्तपत्त गीता गौतम प्रहरी भए ठाउँ पुगिन् । भर्खर जन्मिएको जस्तो देखिने नानीको आँखा माटोले पुरिएका थिए । जीउभरी हिलो थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि गौतमले आफुसँग भएको केही रकम लिएर सिधै विराट नर्सिङ होम दौडिहालिन् ।

अस्पतालमा १७ दिन राखेपछि सडकको नालीमा फालिएको एउटा जीवनले नयाँ जीवन पायो । अस्पतालले ५० हजार शुल्क लिन मानेन । यही बीचमा मनकारी सहयोगीले बच्चाका लागि खानपानको सहयोग जुटाइदिए । कतिले अस्पतालमै आएर आमाको सहयोगको गुनगान गाए । उनको बाँकी जीवनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ridhi-itari1

इटहरी ४ मा रहेको निःसहाय बालआश्रम एउटा घर हो । २०४४ सालमा स्थापना भएको यो घरकी कान्छी सन्तान हुन् रिद्धी । यसैगरि दर्जनौँ सन्तान यस घरमा हुर्किएर आफ्नो खुट्टामा उभिन सक्ने भइसके । कति छोरीहरुको विवाहपश्चात आफ्नो घरमा हाँसिखुसी रमाइरहेका छन् । बेलाबखत ती सन्तान आफ्ना सन्तान च्यापेर अविवाहित सबैकी आमा गीता गौतम समक्ष आइपुुग्छन्, र खुसीका आँशुु झार्दै आशिर्वाद माग्छन् । ‘मानवीय सेवा नै जीवनको सर्वश्रेष्ठ कार्य हो,’सबैकी प्यारी आमा गीता भन्छिन्,‘मानिस भएर बाँच्दा अरुको सहारा हुन पाएकी छुँ, यही नै मेरो खुसी हो ।’

घरीघरी मुखमा औला पुुर्याइरहेकी ४ महिना कटेकी रिद्धी आगन्तुकलाई पुलुक्क हेर्छिन् । उनको भावमा कोही हाँसिदिए मुस्कुराउँदै जवाफ फर्काउँछिन् । ‘मैले भेट्दा तीन दिनकी थिइ । पिसाव फेर्न सक्दिन थिइ,’आमा भन्छिन्,‘धुकधुकी मात्रै थियो । बाँच्दिन होला जस्तो लाग्थ्यो ।’ शुक्रवार आश्रम पुुग्दा उनै रिद्धीलाई बोकेर गौतम मनकारीहरुसँग खुसी साट्दै थिइन् । घरमा आफ्ना मात्र सन्तान हुर्काउन सकस परिरहेको यो बेलामा उनको आश्रममा के सहयोग गरौँ भन्दै पुुग्नेहरु प्रशस्त छन् । गौतमलाई लाग्छ,‘मानिस भित्रको मानवीयता जीवित छ ।’

child-home-itri

पत्रकार शालिग्राम पाण्डे केही छिमेकीहरुसँग अत्यावश्यक खाद्यान्न चामल, दुधलगायतका सामाग्री लिएर आश्रम पुगेका थिए । सामाजिक अभियन्ता दिव्य गुरुङ सोही आश्रममा भेटिए । आमासँग त्यहाँको अवस्थाको जानकारी लिएका उनले ड्राइपर, सखर र केही सामानको अर्डर गर्न पसल तिर लागे । ‘अहिले मुलुक लकडाउनमा रहेको बेला एउटा सामान्य परिवार चलाउन हम्मेहम्मे छ । यो परिवार कसरी चलेको होला ?’ उनीसँगै पुुगेका नवराज सुवेदीले भने,‘केही सहयोग चाहिएको छ की भनेर यहाँ बुुझ्न आएका हौँ ।’

आश्रममा सहयोगीहरु बढ्दै गएका छन् । नगरका मेयर र जिल्लाका सिडियोले निरन्तर यहाँको अवस्थाको बारेमा जानकारी लिइरहेका छन् । मुलुक अप्ठ्यारो अवस्थामा भएको बेला यस्ता सामाजिक सँस्थालाई झनै अप्ठ्यारो पर्नसक्छ । दाताको भरमा चलेको यस्ता सँस्थालाई हामीले पनि केहि सहयोग गर्ने कि !