विराटनगर: बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखापरिसकेको जनाउदै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आम सर्वसाधारणहरुलाई घरभित्रै बसिदिन आग्रह गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं सुचना अधिकृत डिएसपी सुमनकुमार तिम्सिनाले कोरोना भाईरसको संक्रमणबाट जोगिन सबैजना आआफ्नो घर भित्रै बसेर लकडाउनको उल्लघंन नगरिदिन आग्रहर गरेका हुन् । ‘हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन हार्दिक अनुरोध गर्दछौं,’तिम्सिनाले भने ।

स्वास्थ्य स्वयम् ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउँघर, छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गरिदिन पनि डिएसपी तिम्सिनाले सार्वजनिकरुपमा अपिल गरेका छन् । नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउन उल्लंघन गरी सवारी साधन चलाउने ३ हजार ५ सय ६५ जनालाई नियन्त्रणमा लिईएको पनि उनले जानकारी दिएका छन् । यस्तै, ठुला साना गरी १ हजार ८ सय ३० वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको पनि उनले बताए ।

bhanuchowk-lock-down

लकडाउनलाई थप कडाई गरिएको बताउदै प्रदेश प्रहरी प्रवक्ता तिम्सिनाले अत्यावश्यक काम बाहेक र सवारी पास नलिएका व्यक्तिहरु घर भित्रै बसेर कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गरी आफुखुशी आवतजावत गरेको पाईएमा कानून बमोजिम कारवाही समेत हुने प्रदेश प्रहरीले दोहोर्याएको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न कुनै एक व्यक्ति वा परिवारको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रहरीलेसम्पुर्ण नागरिक एकजुट भएर आआफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि जोडदिएका छन् ।‘त्रासमा नबसौ, सावधानी अपनाऔँ । हाम्रो आफ्नै सानो लापरवाहीले आफु लगायत घर परिवारका सदस्य साथसाथै छरछिमेक र सम्पुर्ण मानव जातिनै जोखिममा पर्ने हुन्छ,’उनले भने,‘तसर्थ, यस महामारीलाई फैलनबाट रोक्न घरमै सुरक्षित बसिदिनहुन सम्पुर्ण महानुभवहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिनम्र अनुरोध गर्दछ ।’