इटहरी: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १२ जनालाई जनता क्याम्पस इटहरीमा स्थापना गरिएको क्वारेन्टाइन्मा पठाएको छ ।
इटहरी उपमहानगरले निर्माण गरेको उक्त क्वारेण्टाइनमा ११ जना भारतीय र एक जना नेपालीलाई वीपीबाट ल्याएर राखिएको हो । ती ११ जना भारतीय र एक नेपालीलाई सुनसरी वर्जुको मस्जिदबाट प्रहरीले नियन्त्रणमा लिएकाहरु हुन् । उनीहरुलाई प्रहरीले वीपीमा परीक्षण गर्न पठाएको थियो । उनीहरु सबैको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज राम कुमार धमलाले बताए ।
यसैबिच इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा निर्माण गरेको क्वारेन्टाइनलाई लायन्स क्लब अफ इटहरी सुनसरीले वासिङ्ग मेसिन प्रदान गरेको छ । लायन्स क्लब इटहरीका अध्यक्ष दिब्यराज कोइरालाले ७० हजार मुल्य बराबरको लुगा धुनेमेसिन उपमेयर लक्ष्मी गौतमलाई हस्तान्तरण गरेका हुन् । लायन्स क्लवको यो सहयोग क्वारेण्टाइनका लागि महत्वपूर्ण रहेको उपमेयर गौतमले बताइन्।
क्वारेण्टाइन पछि सो वासिङ्गमेसिन इटहरी अस्पतालमा प्रयोगमा ल्याइने इटहरी अस्पताल इमरजेन्सि इन्र्चाज धमलाले बताए । जनता क्यामपस इटहरीमा उपमहानगरले सय वेडको सुविधा सम्पन्न क्वारेण्टाइन निर्माण गरेको छ । क्वारेण्टाइनमा वाइफाई, टेलिभिजन, सिसी क्यामेरा समेत जडान गरिएको छ ।