धरान:नयाँ बर्ष २०७७ सालको पहिलो बिहानीमा पनि आज धरानमा लकडाउन उल्लंघन गर्ने १९ जना समातिएका छन् ।

ती सबै बिहान मर्निङ वाक गर्नेहरु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका मध्ये ५ महिला र १४ जना पुरुष भएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । केही संख्यामा स्कुटर र मोटरसाइकल पनि आज प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा लगेर राखिएको थियो । उनीहरुलाई पनि कारोना भाइरसबारे कक्षा लिएपछि छोडिएको प्रहरीले जनाएको छ ।

डिएसपी न्यौपानेले नयाँ बर्ष घरभित्रै परिवारसँग सामाजिक दुरी कायम गरेर मनाउन आग्रह पनि गरेका छन् । विश्व नै कोरोनासँग लडिरहेको बिषम परिस्थिति भएकोले बाहिर घुमफिरमा नगएर घरभित्रै परिवारसँग मनाउन उनको आग्रह छ । ‘लकडाउन पुर्णरुपमा कायमै छ, त्यसैले सबैले घरभित्रै सुरक्षित रहेर परिवारसँग नै नयाँ बर्ष मनाउनुहोला,’डिएसपी न्यौपानेले भने,‘जो जहाँ छौं, हामी त्यही नै बस्दा सुरक्षित रहन्छौं ।’

थप प्रहरी परिचालन

लकडाउनको बेला पनि घुमफिर गर्नेहरुलाई लक्षित गरेर इलाका प्रहरी कार्यालय धरानले सम्भावित ठाउँहरुमा थप प्रहरी परिचालन गरेको छ । नयाँ बर्षको दिन विभिन्न ठाउँहरुमा समुह बनाएर घुम्न जानसक्ने सम्भावना रहेकोले प्रहरी परिचालन गरिएको हो ।

इलाका प्रहरी कार्यालयका डिएसपी न्यौपानेका अनुसार धरानको चिण्डे डाँडा, वीपी पार्क, शिव जट्टा, काठे पुललगायत स्थानहरुमा प्रहरी परिचालन गरिएको डिएसपी न्यौपानेले बताए । ‘सम्भावित ठाउँहरुको पहिचान गरेर थप सुरक्षाकर्मी परिचालन भएकोछ, त्यसैले सबै घरभित्रै बसिदिनुहुन अनुरोध छ,’डिएसपी न्यौपानेले भने ।