इटहरीः क्वारेन्टाइनबाट भागेको भनिएका एक भारतीय नागरिकलाई आफ्नो टोलमा बस्न दिएको भन्दै इटहरी ६ का स्थानीयले आपत्ति प्रकट गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको जनता बहुमुखीमा बनाएको क्वरोन्टाइनबाट राख्ने क्रममा मंगलवार ती युवक भागेका थिए । उनलाई पुनः क्वरोन्टाइनमा राख्नुुको सट्टा आफन्त डेरा गरी बस्ने इटहरी ६ को त्रिवेणी टोल विकास संस्थाको एक घरमा पुुर्याइएको थियो । प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा नलगी घरमा पुर्याउँदा टोलवासी त्रसित बनेका छन् । संक्रमण फैलिएको मुलुकबाट आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न सरकारले सुचना गरेको छ । ती युवालाई भने इटहरीमा घरमा राखिएको हो । अहिले घरधनी र टोलविकासका अन्य छिमेकीले उनलाई तुरुन्त कोरोना भए नभएको जाँच गर्न र क्वारेन्टाइनमा राखिदिन माग गरेका छन् ।
घरधनी सीताराम चापागाईले प्रहरीले जबरजस्ती ती युवालाई आफ्नो घरमा डेरा गरी बस्ने आफन्तको जिम्मामा राखिदिएको गुनासो गरे । ‘ति युवा भारतीय नागरिक हुन्, उनि संक्रमित छन् कि छैनन् ढुक्क हुने अवस्था छैन,’चापागाईले भने,‘क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्तिलाई यहाँ किन ल्याइएको भन्दा कसैले चित्तबुझ्दो जवाफ दिँदैनन् ।’ उनले नगरका जनप्रतिनिधिले हेलचेक्राइ गरिदिएको बताए । ‘आफुुलाई टोलबासीले ति व्यक्तिलाई हटाउ भन्छन् । म यो मान्छेलाई कसरी धपाउँ ?’,उनले प्रश्न गरे ।
त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष हेमसागर निरौलाले तत्काल क्वारेनटाइनमा राख्न र स्वास्थ्य उपचार गर्न माग गरे । ‘हामी दुइ दिनदेखि टोलवासी आतंकित छौँ । के कति कारणले उनलाई यहाँ राखियो अचम्ममा परेका छौ,’निरौलाले भने । इटहरी ६ का वडाअध्यक्ष दीपक गौतमले भने क्वारेन्टाइनबाट भागेको भनिएका ती व्यक्तिलाई घर पुर्याएको स्वीकारेका छन् । उनले आफुले समेत बुझिरहेको भन्दै निजको र्यापिड टेस्ट गर्दा कोराना नभएको र थप स्वाव परिक्षणका लागि धरानको विपी प्रतिष्ठान पुुयाइने जानकारी दिए ।
क्वारेन्टाइनमा नलगिएको बारे भने उपमेयर लक्ष्मि गौतमको भनाई उद्धृत गर्दै उनले क्वारेन्टाइनको सुरक्षाको जिम्मा लिएको नेपाली सेना ति युवालाई लिन नमानेको जानकारी दिए । भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका ती युवा आमालाई औषधी लिएर आएको भन्दै झुक्याएर इटहरी प्रवेश गर्दा प्रहरीले पक्राउ गरेर क्वारेन्टाइन पुुर्याएको थियो । प्रहरी स्रोतका अनुसार ती युवा लागुुपदार्थ सेवन गर्ने गरेको पाइएको बताएको छ ।