धरान: एक स्वास्थ्यकर्मी कुटिएको घटनाले आज बिहानैदेखि धरान चर्चामा रह्यो । धरान ६ पानवारीस्थित स्कुल डाँडा क्षेत्रमा प्रहरी चौकीका इञ्चार्ज सई बि.बि.राउतले हेल्थ असिस्टेष्ट चन्द्रप्रकाश खनाललाई दुव्र्यवहार र कुटपिट गरेको भन्दै स्वास्थ्यकर्मीहरु धरान उपमहानगरपालिकामा भेला भए ।

उनीहरुले सुरक्षा हुनुपर्ने साथै लकडाउनमा कार्ड देखाएर हिड्न पाउनुपर्ने माग गरे । मेयर, उपमेयरसँगको छलफलमा सुरक्षाको प्रत्याभूति जनाएपछि उनीहरु काममा फर्किए । प्रहरीले कुटिएका स्वास्थ्यकर्मी खनालले आफु एक विरामीको स्वास्थ्य जाँचमा जाने क्रममा कार्ड देखाउदा देखाउदै पनि प्रहरीले कुटेको मिडियाहरुमा अभिव्यक्ति दिएका थिए । राज्य नै कोरोना भाइरस(कोभिड १९)को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत भएको बेला र फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीमाथि नै प्रहरीले कुटपिट गरेको घटनाले सबैको ध्यान केन्द्रीत भयो ।

तर, घटना भएको वडा नं ६ का अध्यक्ष भुवनसिंह बस्नेत र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने भने घटनालाई फरकरुपमा व्याख्या गर्छन् । वडाअध्यक्ष भुवनसिंह बस्नेतले हेल्थ हेसिस्टेष्ट खनालको कार्यक्षेत्र धरानको वडा नं २० स्थित विष्णुपादुका स्वास्थ्य चौकी हो । जुन साविक विष्णुपादुका गाविस हो । यो धरान बजारदेखि पश्चिम उत्तर पर्छ । उनी कुटिएको ठाउँ भने साविक पाँचकन्या गाविस हो । जुन धरान बजारदेखि पुर्व पर्छ । खनाल बिहान ६ बजे नै उपचारको क्रममा वा कार्यालयको कामले डिउटी गएको बेला पनि नभएको वडा अध्यक्ष बस्नेतले बताए । केही दिनदेखि आफ्नो वडाबाट धरानको बजार क्षेत्रमा दुध बिक्रीमा लैजान रोक लगाइएको कारण हेल्थ असिस्टेष्ट पानवारी दुध लिन आउने जाने गरेको उनले बताए । ‘त्यति बिहानै कार्यालयको कुन काममा यता आएको हो ? कस्ले डिउटीमा पठाएको हो ?’अध्यक्ष बस्नेतले भने ।

बिहान पानवारीको स्कुल डाँडा क्षेत्रमा धेरै पसल खुलेर भिडभाड भएको साथै त्यही बेला स्थानीय सहभागी कृषि सहकारीले किसानलाई मल वितरण गर्दा अव्यवस्थित भिड भएपछि प्रहरीले व्यवस्थित गर्न केही वल प्रयोग गर्ने क्रममा घटना हुन पुगेको अध्यक्ष बस्नेतले बताए । ‘सहकारीले मल वितरण गर्दा भिडभाड भएपछि प्रहरीले भिडलाई हटाउन खोज्दा केही वल प्रयोग गर्नुपर्ने अवस्था आयो, त्यसै बेला उहाँ पनि त्यहाँ आइपुगेपछि लाठी भेटेको हो,’अध्यक्ष बस्नेतले भने,‘उहाँको कार्यालय विष्णुपादुका हो, यता पानवारी किन आएको ? मलाई पनि अप्रेशन गरेको मान्छेको ड्रेसिङ गर्न आएको भन्यो । पछि बुझ्दा होइन रहेछ, दुध लिन आएको रहेछ । डिउटीको बेला पनि भएको होइन ।’

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पनि घटनाबारे जानकारी पाएपछि बुझ्दा मल वितरण अव्यवस्थित र धेरै भिड भएकोले प्रहरीले व्यवस्थित गर्ने क्रममा विवाद भएको बताए । ‘प्रहरीले नियतवश, उहाँलाई रोकेर कार्ड देखाउदा देखाउदै पनि नमानेर कुटेको भन्ने होइन,’डिएसपी न्यौपानेले भने,‘त्यहाँ भिडलाई प्रहरीले व्यवस्थित गर्ने क्रममा उहाँ पनि दुध लिन जादा त्यही भएकोले विवाद भएर यस्तो भएको हो ।’