धरान: लकडाउनको कारण सुनसरी जिल्लाको विभिन्न मस्जिदमा रहदै आएका विदेशी नागरिकहरुलाई प्रशासनले क्वारेन्टाइनमा स्थानान्तरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न मस्जिदहरुमा रहदै आएका भारतीय, पाकिस्तानी र वंगलादेशी मुलका नागरिकहरुलाई क्वारेन्टाइनमा सारेको हो । मस्जिदमा रहदा सामाजिक दुरी कायम नहुने र थप मानिसहरु लुकीछिपी बस्ने सम्भावना पनि भएकोले स्थानीयस्तरमा समन्वय गरेर क्वारेन्टाइनमा सारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार सुनसरीको मञ्जिदमा ५२ जना विदेशी नागरिकहरु थिए । ‘उनीहरुलाई मस्जिदबाट क्वारेन्टाइनमा स्थानान्तरण गरियो,’प्रजिअ पौडेलले भने ।
सुनसरीमा हरिनगरा, भोक्राहा, इटहरी र दुहबीस्थित मस्जिदमा भारतीय, पाकिस्तानी र वंगलादेशी नागरिकहरु बसिरहेको भेटिएको थियो । ती मध्ये कतिपय अनधिकृतरुपमा रहदै आएको पनि प्रजिअ पौडेलले बताए । उनीहरु सप्तरीमा आयोजित धार्मिक सभामा सहभागी हुन आएको र कोरोनाको कारण आफ्नो मुलुक फर्कन नपाएको पनि प्रजिअ पौडेलको भनाई छ । ती सबैलाई इटहरी, भुटाहा र हरिनगरास्थित क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए । ‘सर्वदलीय बैठक बसेर अवस्था सामान्य नभएसम्म नमाज घरमै पढ्ने, ठुलो भेला नगर्नेलगायतको निर्णय गरेर सबैलाई क्वारेन्टाइनमा स्थानान्तरण गरिएको छ, यो सुचना पनि सबैलाई गरिएको छ,’प्रजिअ पौडेलले भने ।