धरान: धरानको विभिन्न वडाका टोलहरुमा स्थानीयबासीहरुले बाटो सिल गर्दै अपरिचित व्यक्तिहरुलाई प्रवेशमा निषेध गर्न थालेका छन् ।

कोरोना संक्रमणको उच्च जोखिम बढेपछि टोलबासीहरु आफै अग्रसर भएर सडकमा बार लगाउदै सिल गरेका छन् भने अपपिरिचत व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् । धरान १३ स्थित सामना मार्गका स्थानीयबासीले अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । स्थानीयबासीले सामना मार्ग टोलबासीहरुले बार लगाएर प्रवेश निषेध गरेका हुन् । सामना मार्ग उपभोक्ता समितिले अमर बस्ती क साथै इलाका प्रशासन कार्यालय पुग्ने बाटो रोकेका हुन् । कोरोना संक्रमणको जोखिम रोकथाम गर्न स्थानीयबासीले यो उपाय लगाएको वडा १३ का बासिन्दा गोपाल श्रेष्ठ प्रयासले जानकारी दिए । उनका अनुसार स्थानीयबासीले मास्क लगाएर मात्र बाहिर निस्कन र लकडाउनलाई पुर्ण पालना गर्न पनि आह्वान गरेका छन् ।

wada-1

वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार यो बाटो भुपु सैनिकको भवन हुदै अमर बस्ती ग, सुर्य मार्ग र फुस्रेसम्म पुग्ने बाटो हो । अनाम टोलमा पनि प्रवेश निषेध गर्ने स्थानीयबासीले जानकारी गराएको अध्यक्ष काफ्लेले बताए । ‘अपरिचित व्यक्तिहरु, भारततिरबाट कोही पाहुनाकोरुपमा आएको छ भने पनि तुरुन्त जानकारी गराउन सबै वडाबासीहरुलाई आग्रह गरेका छौं,’वडाअध्यक्ष काफ्लेले भने,‘कोही विचल्ली छ भने पनि जानकारी दिनुस्, सहयोग गछौं भनेका छौं ।’
यस्तै, धरानको वडा नं १ स्थित शुभलक्ष्मी मार्गमा पनि स्थानीयले बाटो सिल गरिदिएका छन् । उनीहरुले धरान उच्चमावि दक्षिणबाट पश्चिम छिर्ने बाटो, सहरे खोला हुदै सिमाना टोल छिर्ने बाटो बन्द गरेका छन् । अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको सुचना पनि टाँसेका छन् । कोरोना संक्रमणको जोखिम बढेकोले यो कमद चाल्नुपरेको स्थानीय कुमार कार्कीले बताए । हिजो उदयपुरको भुल्केमा १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि धरानमा पनि उच्च जोखिम भएकोले लकडाउन कडाई गरिएको छ । प्रहरीले सबै नाका सिल गरेको छ भने आज बिहान ११ बजेदेखि उपमहानगरपालिकामा सुरक्षा समितिको बैठक बस्दैछ ।