धरान: जनताको गुनासो सुन्न धरान उपमहानगरपालिकाका मेयर तिलक राईले 'जनतासँग मेयर' कार्यक्रम सञ्चालन गरिरहेका छन् । सोही कार्यक्रममा धरान १३ अनाम टोलका स्थानीयले छिमेकीको सुँगुर खोरले असाध्यै दुर्घन्ध फैलाएको गुनासो पोखेका थिए ।
मेयर राईले सोही गुनासो आफ्नो सचिवालयमा टिपाए । उक्त गुनासोबारे बुझ्न मेयरका स्वकिय सचिव राजेशमान श्रेष्ठसहित नगर प्रहरीको टोली स्थलगत अवलोकन गर्न अनाम टोल पुगेको थियो । स्थजलगत अवलोकन गर्दा स्थानीय सुँगुरपालक कल्पना लिम्बु, रिता गुरुङ र श्रवणकुमारी राईले पालेको सुँगुरको खोरबाट दुर्घन्धले वरीपरीका छिमेकहरुलाई असर पुगिरहेको पाइएको थियो । अनुगमन गर्न पुगेको टोलीले सुँगुरपालनलाई व्यवस्थित गर्न र दुर्घन्ध फैलन नदिन आवश्यक सुधार गर्न एक साताको अल्टिमेटम दिएको छ । ‘फोहोरले गर्दा टोलै दुर्घन्ध फैलिएको रहेछ, बस्न गाह्रो हुने रहेछ,’नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले भने,‘सम्झाएर आएका छौं, व्यवस्थित गर्नुस् भनेको छौं । एकसातापछि फेरि जान्छौं, सुधार नभए आवश्यक प्रक्रियामा जान्छौं ।’
अव्यवस्थित तरिकाले पालिएका सँुगुरको खोरबाट दुर्घन्धसँगै लामखुट्टेको पनि खतरा हुन्छ । धरान डेंगु रोगको उच्च जोखिम भएको ठाउँ पनि हो । सुँगुर पालकहरुले पनि खोर सरसफाई राख्ने र सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । तर, उनीहरुले व्यवस्थित खोर निर्माण गर्न भने लकडाउनको कारण तत्काल सम्भव नभएको बाध्यता पनि पोखेका थिए । मेयरका स्वकिय सचिव श्रेष्ठले धरानका सबै सुँगुर पालकहरुलाई आफ्ना छरछिमेक, टोलमा असर नपर्ने गरी व्यवस्थित ढंगले पाल्न अनुरोध गरेका छन् ।