इटहरी: मध्यान्नको १२ बजेको थियो । घामको तापको पारो उकालो लागिरहेको बेला खुट्टामा रातो फितेचप्पल लगाएका दुुई महिला सुरक्षाकर्मीको निगरानी छल्दै इटहरी पश्चिम लाइनको मेडिकल छेउको गल्लीमा भेटिए ।
दुवै साडीमा थिए । मुखमा मैलो मास्क थियो । उनीहरु जहाँजहाँ पुगे, त्यहाँका बजार पसल बन्द थियो । बल्ल एउटा खुल्ला पसल भेटेर गफिदै थिए,‘काम पाए हुन्थ्यो, केही धुलाइको काम छैन ?’ त्यहाँ नियमित सफाइ काम गर्ने ठाउँ थियो, होटल सांग्रिला । इटहरी— ९ का यी महिला ज्यादै निम्न आर्थिक अवस्थाका व्यक्ति थिए । शहरका विभिन्न घर, सँस्था र होटेलमा सफाइ मजदुर काम गर्ने उनीहरु मुस्किलले दिनको ४ सयसम्म कमाउथे । यसका लागि उनीहरुले कम्तिामा ५ ठाउँमा काम गर्नुपथ्र्यो । मञ्जु मल्लिकको परिवारमा ९ जना छन् । पहिले सफाइ काम गर्ने उनिहरुका परिवारका सदस्य अहिले चुपचाप घरमा बस्न बाध्य छन् । ‘बाहिर निस्कौँ पुलिसले पिट्छ, घरमा बसौँ भोक लाग्छ । भाडामा चामल छैन,’मञ्जुले दुखेसो पोखिन्,‘सरकारले दिएको राहत पनि सकिएपछि के खाउँ, के ख्वाउँ भएको छ ।’
मञ्जुको परिवारले सरकारी राहत नपाएको भने होइन । करिब १५ दिन पहिले वडा कार्यालयमार्फत उनीहरुले राहत पाएका थिए । राहतमा १० केजी चामल, १ केजी दाल, आधार लिटर तेल र एक डल्लो साबुन । यतिका सदस्यले त्यो राहत हप्ता दिन कटाएनन् । अन्नको मौजाद छैन । मनमा छट्पट्टि बढेपछि उनीहरु कामको खोजीमा भौतारिएका हुन् ।
मञ्जुसँगै आएकी थिइन्, कल्पना मल्लिक । उनिहरु एउटै टोलका हुन् । ऐलानीमा सानो झुुप्रो त छ । तर, दिनभरी काम गरेर बेलुकाको छाक टार्ने उनीहरुलाई दिउँसोको चर्को घाममा काम खोज्ने चटारो थियो । कल्पनाले पनि मञ्जुले जति नै राहत पाएकी हुन् । उनको परिवारमा भने ४ सदस्य छन् । श्रीमान र उनले काम गरेर ९ वर्ष र ९ महिनाका दुुइ सन्तान हुुर्काइ रहेकी कल्पनाको मनमा भने बेचैन बढाएको छ । उनले आफ्ना सन्तानलाई कसरी पाल्ने भन्ने हुटहुटीले छोएको छ । त्यसैले छिमेकी कल्पनासँग काम खोज्न भौतारिएकी हुन् । ‘गाउँमा बाँडेको राहत सकियो, छिमेकमा मागौँ सबै उस्तै हुन्,’एक अर्काको मुख हेर्दै कल्पनाले भनिन्,‘कि सरकारले बजार खोल्नुपर्यो, कि हामीलाई खाने रासन चाहियो ।’
यो मल्लिक वस्तीमा ७० घर छन् । यि मध्ये मुस्किलले ५ घरमा रकमको जोहो गर्न सक्ने छन् भने बाँकी दिनभरी काम गरेर बेलुका चुल्हो बाल्ने वर्गका छन् । झुरुप्प वस्ती राम्रो भोट बैँक हो । चुनावको छेउमा भने उनीहरुको हालखबर बुझ्न जाने आउनेको ताँती नै हन्छ । तर, विपतमा भने त्यस्ता कोही पनि मान्छे उनीहरुको वस्तीमा पुगेका छैनन् । हालखबर सोध्न कोही नआएकोमा कल्पना गुनासो गर्छिन्,‘चुनावमा त नमस्कार गर्न आउँथे, अहिले हाम्रो हालत कस्तो छ भन्ने बुुझ्न वस्तीमा कोही आएन ।’
होटलको सटर छेउ अडेस लागेर बसेका उनलाई होटल सँचालक निरन संग्रौलाले चिया खुवाउन भने । ‘लक डाउन कहिलेसम्म चल्ने हो टुँगो छैन, हामीले पनि होटलमा काम गर्ने सबै कर्मचारीलाई भाडा दिएर घर पठायौँ,’उनकी श्रीमतीले चिया दिँदै भनिन्,‘केही काम भए त दिन हुन्थ्यो नि, तर हामी नै अब के खाने, भाडा कसरी तिर्ने अवस्थामा पुगिसक्यौँ ।’