धरान: समुदायमा पनि संक्रमण फैलिएको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा कोरोना भाइरस को द्वारा, कसरी पुग्यो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।

ट्राभल हिष्ट्री(यात्रा विवरण) पत्ता लगाउन प्रहरी, प्रशासनले भने मेहनत गरिरहेको छ । भुल्केस्थित मस्जिदमा रहेका १२ जनामा सबैभन्दा पहिला कोरोना संक्रमण भएको पत्ता लागेको थियो । ती मध्ये ११ जना भारतीय जमाती भएकोले शंकाको सुई उनीहरुतिरै सोझिएको छ । तथापी, उनीहरुबाट नै संक्रमण फैलिएको हो भन्ने प्रष्ट छैन । पछिल्लो समय संक्रमित पुष्टि भएका मध्ये ३ व्यक्ति भारत र दुबईबाट पनि आएको बताइएको छ । उदयपुरमा मात्र संक्रमितको संख्या २४ पुगिसकेको छ । त्यसैले भुल्के कोरोनाको इपिसेन्टर बन्ने खतरा बढीसकेको छ ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार अनुसन्धान भइरहेको बताउँछन् । प्रहरीले गहनरुपमा अनुसन्धान गरिरहेको उनले बताए । ‘अनुसन्धान भइरहेको छ, प्रत्येक व्यक्तिको ट्राभल हिष्ट्रि हेरिदैछ,’उनले भने,‘धेरै कुराहरु आइरहेको छ, तर यकिन हुन सकेको छैन ।’ लकडाउनलाई जिल्लामा कडाई गरिएको पनि उनले बताए । संक्रमणको जोखिम हुनसक्ने थप स्थानहरुको पहिचान गरेर प्रदेश र केन्द्र सरकारलाई परीक्षणको लागि अनुरोध गरिएको पनि भट्टराईले जानकारी दिए । संक्रमण फैलिएको भनिएको भुल्के र उच्च जोखिम रहेको चौदण्डीगढी ५ सिवाई क्षेत्रलाई पुर्णरुपमा सिल गरिएको पनि उनले बताए ।

२०५ जनाको पिसिआर र २१ सयको आरटिडी गरिने

त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीका अनुसार त्रियुगा नगरको ९ वटा वडा र छिमेकी चौदण्डीगढी नगरको एउटा वडामा सबैको परीक्षण गरिने भएको छ । मेयर चौधरीका अनुसार त्रियुगाको वडा नं १, २, ३, ५, ६, १०, ११, १२ वडामा कोरोनाको परीक्षण गरिनेछ । यस्तै, चौदण्डीगढीको वडा नं ५ मा पनि परीक्षण गर्ने उनले बताए ।

मेयर चौधरीका अनुसार पहिलो चरणमा २ सय ५ जनाको पिआिर परीक्षण गरिनेछ भने २१ सयको आरडिटी विधिबाट परीक्षण गरिनेछ । ‘२०५ जनाको पिसिआर गछौं, र २१ सयको आरडिटी पनि गछौं,’चौधरीले भने,‘सुरक्षा कडा गरिएको छ । सबैलाई घरभित्रै रहन भनेका छौं ।’