धरान: नेपालमा आज एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । ती सबै उदयपुरको त्रियुगा ३ स्थित भुल्केका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नेपालमा कोभिड १९ पुष्टि भएको संख्या ४२ पुगेको छ । ती सबैको स्वास्थ्य अवस्था सामान्य छ भने ४ जना निको भएर घर फर्किसकेका छन् । आज थप पोेजेटिभ देखिएका ११ जनामा २ जना महिला छन् । डा.अधिकारीका अनुसार २ सय ६० जनाको काठमाण्डौंस्थित जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको थियो । ती मध्ये ३ जनाको नतिजा पोजेटिभ देखिएको थियो भने २० जनाको परीक्षण भइरहेको छ ।
यस्तै, ६९ जनाको परीक्षण विराटनगरस्थित कोशी अस्पतालमा गरिएकोमा ८ जनाको पोजेटिभ देखिएको थियो । उनीहरुको थप परिक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गर्दा पनि पोजेटिभ पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । उनीहरुलाई थप उपचारको लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।