काठमाण्डौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ।
बुधबार मध्यराती दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । दुई पार्टीका नेताहरूबीच एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने सहमति पत्रमा उल्लेख छ । यस्तै, झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ । यस्तै, चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने दुई पार्टीका नेताहरूबीच सहमति भएको छ।
सहमति पत्रमा दुवै पार्टीका ४, ४ जना नेताहरुले हस्ताक्षर गरेका छन् । राजपाकोतर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेतृ यादवको नेतृत्व नयाँ पार्टी बन्ने
समाजवादी पार्टीकी उपाध्यक्षसमेतर रहेकी सांसद रेणु यादवले पार्टी फुटाउने भएकी छिन् । उनलाई नयाँ पार्टी बनाउन अन्य सात सांसदले पनि साथ दिएको बताइएको छ । नेतृ यादवलाई सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले साथ दिएको बताइएको छ । अलग पार्टी गठन गर्नेबारे बुधबार साँझ नेतृ यादवको शान्तिनगरस्थित निवासमा सांसदहरु भेला भएका थिए । असन्तुष्ट पक्षले बिहीबार नयाँ पार्टी गठन गर्ने बताइएको छ ।