धरान: लकडाउनले अलपत्र परेका संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाका ३८ जना मानिसहरुलाई उद्दार गरेर घर पठाइएको छ ।
धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयको सहयोगमा अलपत्र परेकाहरुलाई घर पठाइएको धरान संखुवासभा सरोकार समाजका अध्यक्ष मिङ्मा भोटेले जानकारी दिए । उनका अनुसार प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले पनि सहयोग गरेका थिए । समन्वयकर्ता अध्यक्ष भोटेका अनुसार मकालु गाउँपालिकाको दोभानसम्म बसबाट पुगेकाहरु त्यहाँबाट पैदल यात्रा गरेर घर पुगेका छन् ।
भोटखोलाका बासिन्दाहरु हिउँद लागेपछि जडीबुटीको व्यापार गर्न तराई झर्ने गर्छन् । यसपाली पनि हिउँदमा तराई झरेका उनीहरु घर फर्कने समयमा भने लकडाउनको कारणले अलपत्र परेका थिए । ‘घर फर्कनुपर्ने बेला लकडाउनले अलपत्र परेका थिए । उहाँहरुलाई उद्दार गरेर गाउँ पठायौं,’समन्वयकर्ता भोटेले भने ।