धरान: विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत डा.योञ्जन त्रिखत्री र उनको परिवारले विरामीका कुरूवाहरूलाई शनिबार बेलुकीको एक छाक खाना खुवाएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १८ को संयोजनमा साँझ ५ बजे प्रतिष्ठानको गेटमा चार सय जना विरामीका कुरुवाहरुलाई डा. त्रिखत्री र परिवारले खाना खुवाएका हुन् । डा. त्रिखत्री विपी प्रतिष्ठानको एनेस्थेसिया विभागको सहायक प्रोफेसर हुन् । लकडाउनको कारण होटलहरु सञ्चालनमा नरहदा विरामीका कुरुवाहरुलाई खानामा समस्या परेको र वडा कार्यालयले व्यवस्थापन गर्दै आएको जानकारी भएपछि खाना खुवाएको डा.त्रिखत्रीले बताए ।
वडा नं १८ ले चैत्र १५ गते शनिबारदेखि निरन्तर प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका विरामीका कुरूवाहरूलाई विहान र वेलुकीको खाना खुवाउदै आएको छ । वडाध्यक्ष प्रविण राईका अनुसार वडाले विहान ११ देखी १२ बजेसम्म र बेलुकी ५ बजेदेखी ६ बजेसम्म खाना र पानी वितरण हुदै आएको छ । खाना वितरण गर्नु अघि वडा कार्यालयका स्वंयमसेवकहरुद्वारा वितरण गर्नेस्थलमा ब्लिचिङ पाउडर छर्केर स्यानिटाइज गर्ने गरेको पनि वडाअध्यक्ष राईले बताए । कुरुवाहरुलाई खाना खुवाउने कार्य लकडाउन अवधिभर जारी रहने वडाध्यक्ष राईले वताए ।