धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन १ सय ४ वटा स्वाबको रिपोर्ट आएको छ ।

प्रतिष्ठानको माइक्रोवायोजोली विभाग मातहतको ल्याबले आफ्नो क्षमता बढाउदै एकै दिन १ सय ४ स्वाब परीक्षणको रिपोर्ट आज सार्वजनिक गरेको हो । वीपी प्रतिष्ठानमा शुरुवातमा कम्तीमा १२ वटाबाट स्वाबको पिसिआर परीक्षण शुरु भएको थियो । अहिले क्षमता एकै दिनमा एक सय बढी भएको छ । माइक्रोवायोलोजी विभागका अनुसार एकै दिनमा २ सय स्वाबको नमुना परीक्षण गर्न सक्ने क्षमता विस्तार भएको छ । सरकारले आरएनए छुट्याउने मेशिन अटोमेटिक(स्वचालित) मेशिन उपलब्ध भए परीक्षण संख्या अझ धेरै हुने माइक्रोवायोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.लोकबहादुर श्रेष्ठले जानकारी दिए ।

डा.श्रेष्ठका अनुसार अहिले वीपीमा आरएनए छुट्याउने मेशिन म्यानुअल छ । अटोमेटिक मेशिन नहुदा स्वाबको नमुना छ्टयाउदा समय बढी लाग्छ । त्यसैले सरकारसँग अटोमेटिक मेशिनको माग गरिएको डा.श्रेष्ठले बताए । ‘म्यानुअल मेशिन हुदा पनि सय वटा परीक्षण गरिरहेका छौं, परिआएमा २ सयसम्म टेष्ट गर्न सक्छौं,’डा.श्रेष्ठले भने,‘सरकारले अटोमेटिक मेशिन दियो भने एक घण्टामा एकैपटक ९६ वटा नमुना परीक्षण गर्न सक्छौं ।’ उनका अनुसार अहिलेसम्म कुल ६ सय स्वाब परीक्षण भइसकेको छ । ती मध्ये १३ वटा मात्र रिपोर्ट पोजेटिभ आएको छ । 

प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार यो ल्याब काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछि सबैभन्दा धेरै संख्यामा परीक्षण गर्ने ल्याब हो । यहाँ जनशक्ति पनि धेरै छन् भने पिसिआर मेशिन पनि २ वटा छ । आरएनए मेशिनमा स्वाबको नमुनाबाट आरएनए छुट्याएपछि पिसिआर मेशिनबाट पोजेटिभ वा नेगेटिभ भन्ने रिपोर्ट आउछ । त्यसको लागि पिसिआर मेशिनमा आरएनएको जिनसँग म्याच गरिन्छ ।

सामान्यतयाः ल्याबमा २ वटा जिन हुन्छ । वीपीमा भने ४ वटा जिन छ । त्यसैले २ वटा जिनसँग म्याच गर्दा पनि शंकास्पद भएमा तेस्रो वा चौथो जिनसँग म्याच गरेर कन्फर्म गरिने सहप्रवक्ता डा.ऐरले जानकारी दिए । ‘यहाँको परीक्षण उच्च क्षमताको हो । जनशक्ति पनि पर्याप्त छन्,’उनले भने,‘सरकारले आरएनए छुट्याउने मेशिन अटोमेशिन दिने हो भने परीक्षण क्षमता तेब्बर हुन्छ ।’