धरान: लकडाउनको कारण पत्रपत्रिका बन्द भएर रोजगारी गुमाएका पत्रिकाको वितरण शाखामा कार्यरत मजदुर(हकर)हरुलाई नेपाल फोटो पत्रकार महासंघ सुनसरीले राहत वितरण गरेको छ ।
महासंघले मंगलवार धरा ७ स्थित सन्ध्या इन होटलको हलमा धरानमा पत्रिका बितरणमा कार्य गर्ने विभिन्न मिडिया हाउसका ४५ जना वितरकहरूलाई राहत वितरण गरेको हो । महासंघले राहतमा १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरेको अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए । उनका अनुसार धरानमा मंगलवार र वुधवार गरि दुई दिन राहत सामग्री वितरण गरिनेछ ।
धरानको सबै पत्रिकाको संचालकहरूसँग सहकार्य गरी वितरकहरूको नामावली संकलन गरेर राहत वितरण गरिएको हो । अध्यक्ष राईले भने, लकडाउनको कारण पत्रिका वितरण गर्ने हकरहरूमा सबैभन्दा समस्या हुन आउने देखिएकोले राहत प्रदान गरिएको हो । उनका अनुसार धरानबाट प्रकाशन हुने दैनिक पत्रिका ब्लाष्ट, औजार, कोशीपत्र, मर्निङ टाइम्स, फास्ट टाइम्स साथै पत्रपत्रिका पसलमा काम गर्ने वितरकहरूलाई समेत राहत वितरण गरिएको थियो ।
राहतको लागी धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यालय, नेपाल पत्रकार महासंघ हङकङ, व्यवसायी एवं क्लिक धरान मिडिया प्रालिकी प्रबन्ध निर्देशक सुनिता केसी राई, धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि, सिल्भर इन्टरटेनमेन्ट, प्रेस संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, रेडियो धरान ८८.८ मेगाहर्ज, युवा नेता द्वय दिपक बनेपाली, दिवस राइ, व्यवसायी सुनिता लिम्बु र अमित श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।
लकडाउनका कारण राहत लिन आउन सम्भव नभएकाहरुलाई घरमा नै राहत पुर्याइदिने व्यवस्था गरिएको सचिव शिसिर राईले बताए । राहत वितरण कार्यक्रममा फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ, प्रेस संगठन केन्द्रीय सदस्य तथा महासंघका सल्लाहकार देवेन्द्र कार्की, सल्लाहकार किशोर थुलुङ्ग, मजदुर नेता रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।