धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ बाट निवार्चित एवं सामानुपातिकतर्फका नेकपाका सांसदहरुले वडा कार्यालयहरुमा राहत वितरण गरेकोप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस धरान उपमहानगर कार्यसमितिका सचिव युवराज शंकरले प्रेस विज्ञप्ती जारी गर्दै संकटको घडीमा नेकपाका संघीय र प्रदेशका सांसदहरुले अराजनीतिक चरित्र देखाएको पनि टिप्पणी गरेका छन् । कांग्रेसले स्थानीय सरकारसँग कुनै समन्वय र जानकारी विना नै विभिन्न वडाहरुमा आफै राहत वितरण गरेर सांसदहरुले एकद्वार प्रणालीको धज्जी उडाएको पनि आरोप लगाएको छ । नेपाल सरकारले नै राहत सहयोग एकद्वार प्रणालीमार्फत गर्न निर्णय गरेपछि धरान उपमहानगरपालिकाले पनि सांसदहरु, दलका प्रतिनिधि, संघसंस्था र सुरक्षा प्रमुखहरुसँग बैठक बसेर सर्वसम्मत निर्णय गरिएको तर नेकपाबाट निवार्चित सांसदहरुले सो निर्णयको अवज्ञा गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।
आफु बच्ने र अरुलाई बचाउने समयमा भोट माग्ने खालको क्रियाकलाप सत्ता पक्षीय सांसदहरुले प्रस्तुत गरेको पनि विज्ञप्तीमा उल्लेख छ । ‘यस प्रवृत्तिको धराने जनताले समय सापेक्ष जवाफ दिने नै छन्, र स्थानीय सरकारलाई आफ्नो निर्णयमा कटिवद्ध भई एकद्वार प्रणालीमार्फत नै राहत संकलन तथा वितरणलाई निरन्तरता दिन अनुरोध छ,’विज्ञप्तीमा भनिएको छ ।
सुनसरी क्षेत्र नं १ बाट निवार्चित एवं समानुपातिकतर्फ संघ तथा प्रदेशका नेकपाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको २७ वटै वडामा वडा कार्यालयहरुमा राहत स्वरुप चामल वितरण गरेका थिए । निर्वाचन क्षेत्र नं १ मा धरानको २० वटै वडा, बराहक्षेत्र नगरपालिकको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा पर्छ । संघीय सांसद जयकुमार राई, प्रदेश सांसदहरु भीम आचार्य, प्रदीपकुमार भण्डारी, सावित्री श्रेष्ठ, उमिता वराइलीले यी वडाहरुमा १३ हजार ५ सय किलो चालम राहत स्वरुप वडा कार्यालयमा दिएका थिए । सांसदहरुले भने आफुहरुले व्यक्ति व्यक्ति वा वस्तीमा पुगेर राहत वितरण नगरी वडा कार्यालयमा नै दिएकोले एकद्वार प्रणालीको उल्लंघन नभएको जिकिर गरेका छन् ।