धरान: नेकपा सांसदहरुले राहत स्वरुप दिएको चामल धरानको विभिन्न ५ वटा वडा कार्यालयले फुड बैंकमा जम्मा गरेको छ ।

धरानको वडा नं १, २, ५, १४ र १८ वडा कार्यालयहरुले सांसदहरुले दिएको चामल उपमहानगरपालिकाको फुड बैंकमा जम्मा गरेको हो । धरानमा यी ५ वटा वडा नेपाली कांग्रेसले जितेको वडा हो । फुड बैंकको व्यवस्थापनको जिम्मेवारी पनि सम्हालिरहेका वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख भेषराज घिमिरेका अनुसार ५ वटा वडा कार्यालयबाट चामल फुड बैंकमा जम्मा भएको जानकारी दिए । ‘उहाँहरुबाट जम्मा २१ सय केजी चालम फुड बैंकमा जम्मा भएको छ,’घिमिरेले भने ।

वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराईले सांसदहरुबाट राहत स्वरुप चामल उपलब्ध हुनु सकरात्मक नै भएको बताए । तर, आफ्नो वडामा राहत वितरण भइसकेको कारण अन्य आवश्यक पर्ने परिवारलाई वितरण होस् भनेर फुड बैंकमा नै पठाइदिएको उनले बताए । ‘माननीय ज्यूहरुले वडा कार्यालयलाई दिनुभयो, खुशी नै छौं,’उनले भने,‘हाम्रो वडामा राहत बाडिसकेका छौं, अन्य जहाँ आवश्यक छ त्यहाँ फुड बैंकमार्फत जान्छ भनेर पनि पठाएको हो ।’

सांसदहरुले दिएको राहतमा चामल मात्र भएको र फुड बैंकबाट आउदा तरकारीसहितको सेट आउने भएकोले पनि फुड बैंकमा पठाइएको अध्यक्ष भट्टराईको भनाई छ । यस्तै, वडा नं १८ का अध्यक्ष प्रविण राईले पनि आवश्यकता भन्दा कम भएकोले फुड बैंकमा नै जम्मा गरिदिएको बताए । ‘राहत पर्याप्त नभएको र चामल मात्रै भएकोले फुड बैंकमा पठाएको हो, त्यहाँबाट आवश्यकता अनुसार थप भएर सेट नै आउने भएकोले सहज हुन्छ,’उनले भने ।

सुनसरी क्षेत्र नं १ का संघीय र प्रदेशसभाका प्रत्यक्ष निवार्चित एवं समानुपातिक सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको २७ वटा वडा कार्यालयहरुलाई कुल १३ हजार ५ सय चामल विरतण गरेको थियो । सांसदहरुले एकद्वार प्रणाली अनुसार नै राहत वडा कार्यालयमा दिएको दाबी गरेका थिए । तर, नेपाली कांग्रेसले भने एकद्वार प्रणालीको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ ।