धरान: लकडाउनको कारण प्रभावित बनेको बालबालिकाको नियमित खोप कार्यक्रम सुचारु भएको छ ।
कोभिड १९ को कारण रोकिएको त्यावश्यक स्वास्थ्य सेवामा पर्ने नियमित खोप एक महिनापछि धरानलगायत देशभरका स्थानीय तहहरुमा सुचारु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ महामारीको समयमा नियमति खोप सेवा सञ्चालन गर्ने मार्गदर्शन अनुसार खोप सेवा सञ्चालन गर्न निर्देशन दिएवमोजिम खोप कार्यक्रम सुचारु गरिएको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार लकडाउनले धरानमा पनि एक महिना खोप सेवा रोकिएको थियो ।
महाशाखा प्रमुख मेहताका अनुसार धरानका साविकका खोप केन्द्रहरुमा तालिका बनाएर खोप सेवा सुचारु गरिएको छ । त्यसरी खोप सेवा सुचारु गर्दा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीहरुले लकडाउनको आचारसंहिता पालाना गर्ने पनि उनले बताए । ‘सबैले दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, स्वास्थ्यकर्मीहरुले पिपिई प्रयोग गर्नेलगायतका सुरक्षा उपाय अपनाइन्छ,’उनले भने,‘बच्चा लिएर आउदा पनि भिडभाड हुन नदिन सचेत छौं ।’
धरानमा नियमित खोप केन्द्रहरुमा तालिका बनाएर खोप सेवा सुचारु गरिएको छ । खोप कार्यक्रम प्रभावित हुन नदिन प्रहरी, प्रशासन सबैतिर आवश्यक जानकारी पनि गराएको महाशाखा प्रमुख मेहताले जानकारी दिए । भर्खर जन्मिएका नवजात शिशुदेखि १५ महिनासम्मका बालबालिका र गर्भवती महिलाहरुलाई लगाइन्छ । बि.सी.जी., डिपिटि हेप बी, ओ.पी.भी., पी.सी.भी,लगायत विभिन्न ११ किसिमका खोप बच्चा हरुलाई दिने गरिन्छ । गर्भवती महिलालाई टि.डी.(टिटानस डिफ्थेरिया) खोप लगाइन्छ । धरानमा एक बर्षमा ३ हजार ७ सय ३७ जना बालबालिकालाई खोप लगाउनुपर्ने लक्ष्य राखिएको छ ।