धरान: प्रदेश एकका मुख्यमन्त्री, मन्त्रीसमेत सहभागी एक कार्यक्रममा नेपाली सेनाका इटहरीस्थित पुर्वी पृतनाका पृतनापति(जर्नेल) अनन्त कार्कीले चुरोट सल्काएको दृष्य सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ ।
गएको शनिबार मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना प्रभावित जिल्ला उदयपुर भ्रमणमा गएका थिए । उक्त भ्रमणमा पृतनापति जर्नेल कार्की पनि सँगै गएका थिए । सोही क्रममा उदयपुरको कटारी १ स्थित क्वारेन्टाइनमा आयोजित सार्वजनिक कार्यक्रममा नै पृतनापति जर्नेल कार्कीले मर्यादाविपरीत र कानुनको धज्जी उडाउदै चुरोट सल्काएका थिए ।
पत्रकारहरुसमेत सहभागी कार्यक्रममा यो दृष्य न्युज २४ का पत्रकार अभिमन्यु लामिछानेले कैद गरेर जनतासँग सिधा कुरामा प्रसारण भएको थियो । यो समाचार प्रशारण भएपछि अहिले सामाजिक सञ्जालमा जर्नेल कार्कीको चर्को आलोचना भइरहेका छ । दृष्यमा शुरुमा पृतनापतिले मुख्यमन्त्री र मन्त्रीहरुको पछिल्लतिर बसेर चुरोट सल्काएका थिए । उनी नेपाली सेनाको पोशाकमा नै थिए । उनले बैठक चलिरहदा पनि चुरोट सल्काएर पिएका थिए ।
सेनाका जर्नेलले पोशाकमै चुरोट पिउनु पदिय मर्यादा विपरीत मात्र होइन, सार्वजनिकस्थलमा चुरोट पिउनु कानुन विपरीत पनि हो । सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनमा सार्वजनिकस्थलमा धुम्रपान वा सुर्तिसेवन गर्न रोक लगाइएको छ । त्यसो गर्ने व्यक्ति वा कर्मचारीलाई धु्रमपान गर्न तुरुन्त रोक लगाउने र पटक पटक धु्रमपान वा सुर्तिसेवन गरेमा अनुशासनमा नरहेको सरह मानि निजको सेवा सर्त सम्बन्धि कानुन वमोजिम सचेत गराउने वा विभागीय कारबाही गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।
यो दृष्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी,आलोचना भइरहेको छ । विराटनगरका पत्रकार प्रेम देवानले जर्नेल कार्कीले चुरोट पिएको तस्बिर फेसबुकमा पोष्ट गर्दे लेखेका छन्,'प्रदेशका मुख्यमन्त्री अनि मन्त्री, सिडीयो , प्रहरी प्रमुखहरुको मुख अगाडी नै धुवा पुग्नेगरी, आरामले, सबैले देख्ने गरी नेपाली सेनाको पोसाकको ध्वज्जी उडाउदै पूर्वी पृतना ईटहरीका जर्नेलसाप अनन्त कार्कीले चुरोटको धुवा फुई फुई उडाउनु कतिको स्वभावनिय छ ? जर्नेलसापलाई कुन ऐन अन्तर्गत कारबाही हुन्छ ? सामाजिक विकास मन्त्री ज्यू ?'