सप्तरी: गत चैत ३० गते सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका १ का १६ बर्षीय सुरज साह सोनारको हत्या गरी फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनको हत्यामा संलग्न सुजित कुमार मुखिया, प्याँ प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको हो । उनीहरुले रातको समयमा घरेलु हतियार प्रयोग गरी टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरेका थिए । मृतक सोनारको शव कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा मृत अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एवं डिएसपी तिलक भारतीका अनुसार मृतक सोनार र अभियुक्तहरु साथी रहेका थिए । उनीहरुले राती करिब साढे ७ बजे कंकालिनी मन्दिरदेखि करिब १ किलोमितटर दक्षिणतर्फ बाँधको बाटो छेउको पोखरी डिलमा बसेर गाँजा खादै चोरी गर्ने योजना बनाएका थिए । उनीहरुले योजना वमोजिम नै कट्टर, खुकुरी र बोरा ल्याउने काम मृत्तक सुरजलाई दिएका थिए । उनीहरु लागुऔषध सुलेसन खाएर नसाले लठ्ठ भएर करिब १०ः३० बजे कंकालिनी मन्दिर अगाडीको चोकमा जम्मा भएका थिए । सोही बेला सुजित कुमार मुखियाले सुरज साहको साथमा भएको ताल्चा काट्ने कट्टरले जिस्किने क्रममा सुरज साहको टाउकोमा हान्दा (प्रहार गर्दा) नसाको सुरमा रहेका सुरज बेहोस भई ढलेको थिए ।

hatyako

त्यसपछी तीनै जना मिलेर प्लास्टिकको बोरामा रहेको निलो रंगको लेसले सुरजको घाँटीमा बाँधेका थिए । त्यसक्रममा उनीहरुले सुरज मरिसक्यो भन्ने ठानेर प्लास्टिकको बोरामा हालेर भलुवातर्फ जाने कोशी बाँधको छेउमा लगेका थिए । साथै, फलामको खुकुरीले सुरजको टाउकोमा पुनः तीन-तीन पटक प्रहार गरी रगताम्मे बनाई बाटो छेउकै झाडीमा फालेर भागेका थिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको डिएसपी भारतीले जानकारी दिए । हत्यामा प्रयोग भएका सामानहरु (फलाम काट्ने कट्टर, खुकुरी र बोरा) पनि बरामद गरेर आज जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।