काठमाडौं: तत्कालिन समाजवादी पार्टीका सांसद एवं पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपाका सांसद र पुर्वआइजीपीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ ।

राजपा र समाजवादी दल एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले आज बिहिबार आफ्ना सांसद अपहरण गरेको आरोपमा नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पुर्वआइजिपी सर्वेन्द्र खनालविरुद्ध उजुरी दिएका हुन् । सांसद र पुर्वआइजीपीले जनकपुरबाट अपहरणको शैलीमा आफ्ना सांसदलाई काठमाण्डौं ल्याएको जनता समाजवादी पार्टीको दाबी छ । नेपाल प्रहरी र सरकारी वकिलकोक कार्यालयले पनि अपहरण सम्बन्धी जाहेरी दर्ता गर्न नमाने पछि मधेशवादी दलका नेताहरुले मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएपछि तत्कालिन समाजवादी पार्टी फुट्ने चर्चा व्यापक थियो । सोही चर्चाको बीचमा प्रधानमन्त्री ओलीको निर्देशनमा सांसदद्धय र पुर्वआइजीपी खनाल समाजवादी पार्टीका सांसद डा.यादवलाई लिन जनकपुर पुगेका थिए । डा.यादवलाई लिएर नेकपा सांसद र खनालको टोली काठमाण्डौं आउदै गर्दा रातारात समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरण गर्ने सहमति भएपछि प्रधानमन्त्री ओलीको योजना तुहिएको थियो ।

यो प्रकरणले डा.यादवलाई अपहरण गरी राजधानी ल्याएको भन्दै सांसदद्धय र पुर्वआइजीपीमाथि मात्र प्रहार भएन, प्रधानमन्त्रीकै निर्देशनमा भएको भन्दै उनको नैतिक मुल्यमान्यतामाथि नै प्रहार पनि भइरहेको छ । मुलुक कोरोनासँग जुधिरहेको बेला प्रधानमन्त्री भने सांसद किनबेच र साना पार्टी फुटाउने फोहोरी खेलमा लागेको भन्दै आलोचना पनि भइरहेको छ भने पार्टीभित्रै ओलीमाथि प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने चर्को दबाब छ ।