काठमाण्डौं: कोरोना भाइरसको संक्रमण र लकडाउनले जनता पिरोलिएको बेला मुलुकको राजनीतिले भने अर्को मोड लिइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हठले जारी भएको अध्यादेश खारेज भइसक्यो, तर मुलुकको राजनीतिलाई अझै अध्यादेश पछि विकसित घटनाक्रमले छोडेको छैन । अध्यादेश जारी भएपछि समाजवादी पार्टी फुटाउन आफ्ना सांसदलाई अपहरण गरि राजधानी ल्याएको भन्दै एकीकरण भएको जनता समाजवादी पार्टीका नेताहरु अहिले उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।

उनीहरुले सांसद डा.सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको इसारामा अपहरण गरि काठमाण्डौं ल्याइएको आरोप लगाउदै आएका छन् । अपहरणमा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पुर्व आइजिपी सर्वेन्द्र खनाल संलग्न भएको समाजवादीको आरोप छ । उनीहरुले सांसद बस्नेत, श्रेष्ठ र पुर्व आइजी खनालविरुद्ध अपहरण मुद्दा दर्ता गराउन प्रहरीमा पुगेका हुन् । उजुरी दिन पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद डा.सुरेन्द्र यादव प्रहरी परिसरमा पुगेका छन् ।