धरान: धरान ४ पत्राङ्बारी सामुदायिक वनमा लाथ्रा काट्न गएका युवाहरु मध्ये रुखले किचेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान ५, देवीगाउँका २० बर्षीय कुमार राई रहेका छन् । घटना हिजो बुधबारको हो । वडा नं ४ का सदस्य धनबहादुर कुलुङका अनुसार सुकेको लाथ्रा काट्न गएका युवाहरुले भीरतर्फ रुख नढलोस् भनेर डोरीले तान्ने क्रममा आफैलाई लागेर कुमार गम्भीर घाइते भएका थिए । ‘भीरतर्फ झर्न नदिन माथितिर डोरी लगाएर तान्ने हुदा आफैलाई रुखले किचेछ,’वडा सदस्य कुलुङले भने,‘उपचार गर्न वीपी पनि लगियो, त्यहाँबाट विराटनगर पठायो, उतै उपचार गर्दा गर्दै बित्यो ।’

गम्भीर घाइते कुमारलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राती करिब साढे ७ बजेरित विराटनगर रिफर गरेको थियो । उनको राती १० बजे तिर न्युरो हस्पिटलमा मृत्यु भएको वडा सदस्य कुलुङले जानकारी दिए । ‘घटना के भएको भनेर सोधपुछ गर्न अन्य ४ जनालाई प्रहरीले लगेको छ, भोली १० बजे अभिभावकहरुलाई बोलाएको छ,’उनले भने । प्रहरीले घटनाबारे अनुसन्धान गर्न युवाहरुलाई नियन्त्रणमा ल्याइएको जनाएको छ ।